१ माघ २०७५, मंगलवार

विवादित बन्दै केसीको अनसन

चिकित्सा शिक्षामा व्याप्त विकृतिविरुद्ध २०६९ साल असार २१ गते डाक्टर गोविन्द केसी पहिलो पटक अनशन वस्दा चिकित्सा क्षेत्रसँग सम्बन्धितसँगै आमसञ्चारमाध्यम र नागरिक समाजको व्यापक साथ सहयोग र समर्थन थियो । त्यसपछिका ६ वर्षको अवधिमा केसी १५ पटक अनसन वसिसकेका छन् । सरकारीतर्फबाट विभिन्न प्रतिवद्धता जनाएसँगै अनशन तोड्दै आएका केसीको १६ औं अनशन भने विगतको तुलनमा बढी विवादीत बनेको छ ।

र, उनको क्रेज घट्दो छ । कतिले उनलाई नेपाली चिकित्सा क्षेत्र सुधारका भगवान, निष्ठावान चिकित्सक, खास अभियन्ता भनेर देवत्वकरण गर्ने प्रयास गरिरहेका छन् भने कतिले अनसनको ठेकेदार भन्दै बिरोध गरिरहेका छन् । माग सही नै भए पनि आन्दोलनको प्रकृति, अभिव्यक्ति, हठी स्वभाव र चिकित्सा शिक्षा क्षेत्रबाहेकका मुद्दामा अनसन बसेका कारण उनको अनसन विवादित बनेको हो ।

इलाममा सोहौं अनसन बसिरहेका केसीले राखेको माग यस्तो छः

१. १५ औं अनसनका क्रममा सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गर्नुपर्ने

२. गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिभूवन विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्नुपर्ने

३. चिकित्साशास्त्र अध्ययन संस्थानका खोसिएका अधिकार फिर्ता हुनुपर्ने

४. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गर्नुपर्ने

५. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने

६.द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानूनअनुसार दण्डित गर्नुपर्ने

७. काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषीलाई कारवाही गर्नुपर्ने

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै केसीले सोहौं अनसन सुरु गरेको पाँच दिन भयो । तर पहिला जस्तो उनको अनसनले यसपालि उति चर्चा र नागरिक समर्थन पाएको छैन । यसका थुप्रै कारण छन् । तीमध्ये केही महत्वपूर्ण यस्तो छः

चिकित्सा शिक्षाबाहेकको माग

यसपालि डाक्टर केसीले चिकित्सा शिक्षा क्षेत्रबाहेकका पनि माग राखेर अनुसन बसेका छन् । उनले द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानूनअनुसार दण्डित गर्न र कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवम् हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनको माग ठिकै भए पनि असम्बिन्धित भन्दै धेरैले विरोध गरेका छन् । कतिपयको बुझाईमा केसीले ‘देशकै ठेक्का लिन खोजेजस्तो’ गरेका छन् ।

अनसनपूर्व पत्रकारसम्मेलनमा प्रयोग भएको भाषा

इलामा अनसन बस्न जानुभन्दा अघि केसीले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अति असभ्य भाषा बोले । उनले सरकार र राजनीतिक नेतृत्वलाई ‘अतिनिकृष्ट’ शब्दमा गाली गर्दै कांग्रेसको प्रशंसा गर्नुलाई धेरैले अस्वभाविक भने । उनी खासगरी कम्युनिष्टमाथि नराम्ररी खनिएका थिए ।

यससँगै उनले अनसनअघि जारी गरेको विज्ञप्तिमा पनि विवादित शब्द प्रयोग गरेका छन् । उनले प्रधानमन्त्रीको मानसिक स्वास्थ्यमाथि नै प्रश्न उठाएका छन् । जसकारण उनको आलोचना भइरहेको छ ।

चरम राजनीतिकरण

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसिरहेका डा. गोविन्द केसीको मुद्दालाई केही राजनीतिक दलहरुले जबरजस्त राजनीतिकरण गरिरहेका छन् । अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई सरकारको विरोध गर्न केसीको अनसन गतिलो खुराक बनेको छ ।

यो पटक मात्रै होइन, केसीका यसअघिका अनसनहरु पनि राजनीतिको रंगबाट टाढा थिएन । केसी जुनबेला अनसन बस्छन्, त्यतिबेला प्रतिपक्षमा रहेका दलले सत्तापक्षको विरोध गर्न खुराक बनाउने गरेको नजिर छ । अहिले त केसीले नै कम्युनिष्टको विरोध गरेर आफैंमाथि राजनीतिक रंग पोतेका छन् ।

विदासमेत नलेखी अनसनमा !

डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगञ्जस्थित शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत सरकारी चिकित्सक हुन् । अर्थात् उनी सरकारी कर्मचारी हुन् । तर, उनी आफ्नो कार्यालयमा विदा समेत नलेखी अनसन बस्ने गरेका छन् । अनसन बस्दा मात्रै होइन, उनको हाजिरी अत्य्रन्तै अनियमित र मनलाग्दी छ ।

शिक्षण अस्पताल प्रशासनको तथ्यांकअनुसार उनी असारमा १७ दिन, साउनमा २३ दिन, मंसिरमा १५ दिन र पुसमा १५ दिन अनुपस्थिति छन् । यसबाहेका उनी महिनैपिच्छे चार÷पाँच दिन अनुपस्थित छन् । र, अहिले शिक्षण अस्पतालको हाडजोर्नी विभाग सबैभन्दा कमजोर भएको आरोप लाग्दै आएको छ । यसकारण पनि केसीको अनसन विवादित बनेको छ ।

यसरी केसीको अनसनसँग जोडिएर धेरै विषय बहसमा आएको छ । डाक्टर केसीको माग सही भए पनि उनको आन्दोलनको प्रकृति गलत भएको टिप्पणी भएको हो ।

अहिले कांग्रेसलगायतको आडमा केसीले आफ्नो अनसनलाई प्रतिष्ठाको विषय बनाएका छन् भने सरकार पनि सकेसम्म केसीसामू नगल्ने रणनीतिमा छ । यद्यपि, केसी पक्ष र सरकारले मध्यवन्दु खोज्दै सधैंका लागि यो समस्या समाधान गर्नु आवश्यक छ ।

अनसन श्रृङ्खला र भएका सहमति

पहिलो अनसनः

२०६९ असार २१ देखि २४ गतेसम्म (४ दिन)

तत्कालिन प्रधानमन्त्री : डाक्टर बाबुराम भट्टराई

सहमतिः त्रिविको हस्तक्षेपबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई मुक्त गराउने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत ।

दोस्रो अनसनः

२०६९ साउन २७ देखि भदौ १ गतेसम्म (७ दिन)
तत्कालिन प्रधानमन्त्री ः डाक्टर बाबुराम भट्टराई
सहमतिः बरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्नेलगायत ।

तेस्रो अनसन :
२०७० पुस २७ देखि माघ १० गतेसम्म (१४ दिन)
तत्कालिन मन्त्रिपरिषद्का अध्यक्षः खिलराज रेग्मी
सहमतिः आईओएमलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन गर्ने, नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा नीति तय गर्ने र बरिष्ठताका आधारमा आईओएमको डीन नियुक्ति गर्ने ।

चौथो अनसनः

२०७० माघ २५ देखि फागुन ३ गतेसम्म (८ दिन)
तत्कालिन मन्त्रिपरिषद्का अध्यक्षः खिलराज रेग्मी
सहमति ः पुराना मागमा सहमति, साथै चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र चिकित्सा शिक्षा राष्ट्रिय नीति बनाएर मात्र थप कलेजलाई सम्बन्धन दिने ।

पाचौँ अनसनः
२०७१ फागुन ८ देखि फागुन १९ गतेसम्म (१२ दिन)
तत्कालिन प्रधानमन्त्रीः शुशिल कोइराला
सहमति ः पुराना सम्झौता कार्यान्वयन गर्ने र नयाँ स्वास्थ्य सम्बन्धी नीति बनाउने लगायत ।

छैठौँ अनसन :
२०७२ भदौ ७ देखि भदौ २० गतेसम्म ( १४ दिन)
तत्कालिन प्रधानमन्त्रीः शुशिल कोइराला
सहमतिः एमवीवीएसमा ३ वर्षाभित्र अधिकतम् सिट संख्या १०० कायम गर्ने, शुल्क अधिकतम् ३५ लाख रुपैयाँ कायम गर्नेलगायत ।

सातौैँ अनसनः
२०७२ असोज २ देखि १२ गतेसम्म (१० दिन)
तत्कालिन प्रधानमन्त्रीः शुशिल कोइराला
बिनासहमति अनसन तोडियो ।

आठौँ अनसनः
२०७३ असार २६ देखि साउन १० गतेसम्म ( १६ दिन)
तत्कालिन प्रधानमन्त्रीः केपी शर्मा ओली
सहमतिः स्वयम्भुस्थित मनमोहन अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने लगायत ।

नवौँ अनसन :
२०७३ असोज १० देखि २२ गतेसम्म (१२ दिन)
तत्कालिन प्रधानमन्त्रीः पुष्पकमल दाहाल
बिनासहमति अनसन स्थगित

दशौँ अनसन :
२०७३ कार्तिक २८ देखि मंसिर १९ गतेसम्म (२३ दिन)
तत्कालिन प्रधानमन्त्री : पुष्पकमल दाहाल
सहमति : पूर्वसहमति अनुसार एमवीवीएसको शुल्क लागू गर्ने, चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदबाटै संशोधन गर्ने लगायत ।

एघारौँ अनसन :
२०७४ साउन ९ देखि ३१ गतेसम्म (२३ दिन)
तत्कालिन प्रधानमन्त्री : शेरबहादुर देउवा
सहमति : पूर्वसहमति अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने लगायत ।

बाह्रौँ अनसनः
२०७४ असोज ९ देखि ११ गतेसम्म ( ३ दिन)
तत्कालिन प्रधानमन्त्री ः शेरबहादुर देउवा
बिनासहमति अनसन स्थगित

तेह्रौँ अनसन :
२०७४ असोज १९ देखि कात्तिक १ गतेसम्म (१४ दिन)
तत्कालिन प्रधानमन्त्री : शेरबहादुर देउवा
सहमति : चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गर्नेलगायत ।

चौधौँ अनसन :
२०७४ पुस २४ देखि २९ गतेसम्म (१० दिन)
तत्कालिन प्रधानमन्त्री ः शेरबहादुर देउवा
बिनासहमति अनसन तोडियो

पन्ध्रौँ अनसनः
२०७५ असार १९ देखि साउन १० गतेसम्म (२७ दिन)
तत्कालिन प्रधानमन्त्री ः केपी शर्मा ओली
सहमति ः सबै माग पूरा गर्ने सम्झौता

सोह्रौँ अनसन :
२०७५ पुष २५ गते देखि जारी
प्रधानमन्त्री : केपी शर्मा ओली
केसीको माग : १५ औँ अनसनका सम्झौता कार्यान्वयन लगायत ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV