१ माघ २०७५, मंगलवार

काठमाडौं । यातायात कार्यालयमा हुने भ्रष्टाचारको विषयलाई अख्तियारले गहन रुपमा छानविन सुरु गरेपछि देशभरका यातायात कार्यालयमा कर्मचारी अभाव भएको छ ।

५० प्रतिशत कर्मचारी नै भ्रष्टाचारमा मुसिएपछि कर्मचारी अभावले यातायात कार्यालयको काम कारवाहीमा असर परेको छ । तर, भएका कर्मचारी पनि सरकारी काम कहिले जाला घाम भन्दै बस्दा सेवाग्राही सेवाबाट वञ्चित हुँदै आएका छन् ।

यो आक्रोश सेवाग्राहीको हो । कर्मचारी अभावका कारण यातायात व्यवस्था विभागमा सेवा लिन पुग्दा काम नभएपछि यिनी आक्रोशित भएका हुन् । यो आक्रोशले हजारौं सेवाग्राहीको प्रतिनिधित्व गर्छ । घण्टौ लाइनमा बसेर आफ्नो काम फत्ते गर्न खोजेपनि कर्मचारी अभाव र भएकाबाट पनि समयमै काम हुन नसक्दा हजारौं सर्वसाधारण आजित भएर फर्किने गरेका छन् ।

यता, यातायात व्यवस्था विभाग पनि कर्मचारी नहुँदा दैनिक सेवाग्राहीको गुनासो सुन्न बाध्य छ । अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले यातायात व्यवस्था विभागका अधिकृत, उपसचिव लगायतकै कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा पक्राउ र छानविन गरेपछि देशभर नै यातायात कार्यालयमा कर्मचारीको अभाव भएको छ मुलुकभर रहेका ८ सय ४९ दरबन्दी रहेपनि गत मंसिर २८ गतेसम्म १ सय ८६ पदमा कर्मचारी रिक्त छन् भने आयोगले ४६ जना कर्मचारीहरु माथि भ्रष्टचार मुद्धा दायर गरेको छ ।

रिक्त पदमा कर्मचारी अभाव र भएकालाई पनि आयोगले छानविनमा तानेपछि विभाग कर्मचारी विहीन जस्तै बनेको छ ।

हालसम्म आयोगले पक्राउ गरी मुद्दा चलाएका कर्मचारी :

मेकानिकल इञ्जिनियर २ जना
नायव सुब्बा ७ जना
लेखाअधिकृत १ जना
लेखापाल ६ जना
खरिदार २ जना
सहायक लेखापाल १ जना
कसुर ठहरिएका ८ जना
अनुसन्धानमै रहेका ५ जना

यातायात व्यवस्था विभाग मीनभवनमा ४० जना दरबन्दी मध्ये १८ जनाको पद रिक्त छ । पद रिक्त हुँदा र कर्मचारी आर्थिक अनियमिततामा मुसिएपछि काम प्रभावकारी हुन नसकेको विभागको स्वीकारोक्ति छ । कर्मचारी अभाव भएपनि भएका कर्मचारीले समेत मन लगाएर काम नगर्दा सेवाग्राहीको आक्रोश सुन्न बाध्य हुनुपरेको विभागको गुनासो छ । काम नगर्ने कर्मचारीलाई कारवाही गर्नका लागि ट्रेड युनियन लगायतका समूह बाधक हुँदै आएको छ ।

भ्रष्टाचार मौलाउँदाको शिकार अहिले विभाग आफैले भोग्दै आएको छ । भ्रष्टाचारी कर्मचारीलाई समयमा नै कारवाहीको दायरामा ल्याउन नसक्दा र कर्मचारीको रवैयाप्रति विभाग खरो रुपमा प्रस्तुत नहुँदा हाल सेवग्राहीले समस्या भोग्नु परेको छ । त्यसमाथि पनि भएका कर्मचारी पनि अभावमा रमाउने प्रवृत्तिले विभाग लाचार जस्तै बनेको छ । तर, सरकराले विभागमा देखिएको समस्या समाधानका लागि तत्काल रिक्त पदमा कर्मचारी पूर्ति गर्न आवश्यक छ ।

LIVE TV