१ माघ २०७५, मंगलवार

अमर काफ्ले

इनरुवा, सुनसरी , १ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह सी अन्तर्गतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ ।
इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो ।

अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आजको खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूहमा प्रदेश ७ ले समेत पहिलो खेल जितेकाले भोलि हुने भारत सुपौल र आजको बिजेता प्रदेश ७ बिचको खेलले अघिल्लो चरण प्रवेश गर्ने समूह बिजेता तय गर्ने छ ।

आजको खेलमा प्रदेश नम्वर ७ ले दिएको २ सय ४५ रनको लक्ष पछ्याएको प्रदेश नम्बर ५ केवल २८ दशमलव ३ ओभरमा १ सय २६ रनमा समेटियो । प्रदेश ५ का लागि कृष्ण कार्कीले ३६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । सन्दीप रजालीले १४, सुबेन्डु पाण्डे र बिक्रम भुषालले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको अंक छुन सकेनन् ।

उसलाई सस्तैमा समेट्न प्रदेश ७ का बिक्रम ठगुनाले ४ विकेट लिए । त्यसैगरी नारायण जोशी र शेर मल्लले समान २–२ विकेट लिँदा खडक बोहरा र नरेन्द्र साउदले १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर ७ ले लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रनको मद्यतमा ८ बिकेट क्षतिमा २ सय ४४ रन बनाएका थियो । टिमकालागि बिपिन रावलले २४ र नारायण जोशीले २२ रन बनाउँदा केदार बोहरा र दिपेन्द्र थापाले २१–२१ रन बनाएका थिए ।

प्रदेश नम्वर ५ का मान बहादुर थापाले ३ विकेट लिएको खेलमा रुपेश कुर्मी र बिक्रम भुषाले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच प्रदेश नम्वर ७ का बिक्रम ठगुना घोषित भए । ०००

LIVE TV