१ माघ २०७५, मंगलवार

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व धुमधामसाथ मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पर्वका रुपमा मनाउने गरिन्छ ।

माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा माडा (माणा) तथा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन एकाबिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो माणाे खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ । कागलाई नखुवाई तथा ननुहाई खाँदा अपवित्र हाेइने जनविश्वास रहीअाएकाे छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म-मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्ट बताउछन् । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख गरेकाे पाइन्छ । 
आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ । कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ । साेही अनुसार माघेस‌ंक्रान्तिकाे एकाबिहानै कागलाई राेटी खुवाइन्छ ।

सर्वगुणी पक्षी काग

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् ।

उनी भन्छन्, ‘माघेसङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ ।’ माघमा माछा मासु खानु हुँदैन भन्ने पुस्तौँदेखिको चलन रहेको पण्डित भट्टको भनाइ छ ।

यसदिनकाे बिहान कागलाई दिइएकाे राेटि उसले लगेर लुकाउने गर्छ र साे लुकाएकाे रोटी फेला पारेर ल्याई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास गरिन्छ ।

माघेसङ्क्रान्तिमा कामको सिलसिलामा बाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् । विवाहित महिला माइतीघर जाने गर्छन् । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV