३० पुष २०७५, सोमबार

काठमाडौं । सवारी साधनसँगै काठमाडौं उपत्यकामा दुर्घटना बढेको छ । अघिल्लोको तुलनामा यस वर्ष दुर्घटनाको दर र मृतक संख्या बढेको हो । चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी १ सय ३१ जनाको मृत्यु भएको छ । जुन गत बर्षको १२ महिनाको तुलनामा ६३ जना कम हो । तथ्यांकअनुसार प्रतिमहिना २२ जनाले ज्यान गुमाउँछन् ।

प्रहरीका अनुसार गतभन्दा यस वर्षको यो अवधिसम्म करिब ३७ प्रतिशतले दुर्घटना बढेको छ । यस आर्थिक बर्षको ६ महिनामा भएका ४ हजार ३२ मध्ये ३ हजार ५ सय ६३ वटा दुर्घटना चालकको लापरवाहीका कारण भएको महाशाखाको तथ्यांक छ । चालकको पावरबाही पछि दुर्घटना हुनुको अर्को कारण हो– अत्यधिक सवारी साधनमा सडकको दुरावस्था ।

प्रहरीको तथ्यांकअनुसार २१ देखि ४० बर्ष उमेर समूहका चालकले बढी दुर्घटना गराउँछन् । २० वर्षभन्दा तल र ४१ वर्षभन्दा माथिका चालक तुलनात्मक रुपमा सावधान रहेको देखाउँछ ।

सडक विभागले सडकको अवस्थामा ध्यान नदिनु, यातायात व्यवस्था विभागले सवारी साधनको प्राविधिक पक्ष नहेर्नु र ट्राफिक प्रहरीले नियम पालनामा कडाई नगर्नुको समग्र परिणामले पनि दुर्घटना बढाइरहेको हो ।

ट्राफिक प्रहरीका अनुसार सवैभन्दा बढी मोटरसाइकल/स्कुटर र त्यसपछि कार/जीप/भ्यान दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालकपछि पैदलयात्रु छन् । पछिल्लो ६ महिनामा ४२ मोटरसाइकल चालकको मृत्यु हुँदा ३९ जना पैदलयात्रु मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV