३० पुष २०७५, सोमबार

रिदम सिंह,

बझाङ । जिल्लाका अधिकांश भेडा पालन गरी रहेका स्थानीय हिमालमा हिमपात भएससँगै चिसो छल्नका लागि बेशी झर्न थालेका छन् ।

साइपाल गाँउपालिकाका अधिकांश र तल्कोट गाँउपालिका लगात अन्य स्थानीय तहका भेडा ब्यावसायीहरुको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय गर्ने किसानहरु बेशी झर्न थालेपछि विभिन्न समस्याका कारण यस पेशाबाट दिक्क भएका छन् ।

लेकमा हिमपातका कारण बस्न नसकिने र हिउ जमेर चरन क्षेत्र नै प्रभावित बने पछि आफूहरु उक्त ठाउँ छोडर तराई तिर बसोबास गर्न झरेको साइपाल गाँउपालिकाका भेडा ब्यावसायी पिटर बहादुर बोहराले बताए ।

हिउँद याममा बझाङका विभिन्न जंगल चाहार्दै बैतडी हुदै डोटी जिल्लाको बौलेख र सकाइलसम्म पुग्ने र बर्खामा डोटीदेखि साइपाल हिमालसम्मको यात्रा गरी भेडा च्याङग्रा पालन गदै आएका किसानहरु सामुदायीक वनको नाममा स्थानीयले अनावश्यक दुख दिन थालेपछि परम्परा देखि गर्दै आएको व्यवसाय नै छोडन मनस्थितीमा पुगेको बताउँछन् ।

परापूर्वकालदेखि भेडा चर्ने, हिड्ने र बास बस्ने ठाउँमा स्थानीयहरुले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलविसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेला लगायतका हिमाली ठाँउका करिब ४ सय ५० परिवारले पालेका ३० हजार भन्दा बढी भेडा च्याङग्रालाइ चरन संकट भएको छ ।

साइपाल हिमाल देखि डोटीसम्मको यात्राका क्रममा आफुहरु धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको साईपाल गाँउपालिकाका राजेन्द्र बोहराले बताए । सामुदायीक वनमा भेडा चराए बाफत शुल्क तिर्नु पर्छ भनेर एउटा समूह आउने र उनिहरुलाइ पैसा दिएर पठायो केही दिनपछि अर्काे समूह आएर सामुदायीक वनका पदाधिकारी त हामी हौ भनेर फेरी पैसा असुल्ने गरेको दुखेसो पाखे ।

एउटै वनमा ७ दिन भेडा चराए बाफत पटक पटक गरी १० हजादेखि ३० हजारसम्म तिरेको बताउदै बोहराले पैसा नदिए भेडा नै खोसेर लिने र कुटपिटसम्म गर्ने भएका कारण आफूहरुले छुपछाप दिने गरेको बताए ।

पैसा तिरेर पनि शान्तीसँग भेडा चराउन नपाएको गुनासो गर्दै काँडाका अर्का भेडा पालक ध्यान्टु बोहराले भने जंगलमा चराउन छोडेका भेडा पनि चोरेर खाइदिने गरेको बताए । बझाङ देखि डोटी लैजादा र ल्याउदा बर्षमा कम्तीमा पनि २०÷२५ भेडा च्याङग्रा चोरकै लागि छुट्याउनु पर्ने र राति बास बस्ने ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर भेडा खोसेर लैजाने, कुटपिट गरेर दुःख दिने गरेकोले उनले बताए ।

हिउँदको समयमा हिमाली ठाँउमा हिउँ पर्ने भएकोले भेडा च्याङग्रालाइ बेशी झार्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । साईपाल गाँउपालिकामा मात्र ३ सय ६३ परिवार मध्ये झण्डै २ सय ५० भन्दा बढी भेडापालन व्यवसायमा संलग्न रहेको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामिले बताए ।

यातायातको सुविधा नपुगेका यहाँका धेरै ठाँउहरुमा अहिले पनि भेडा च्याङग्रा मार्फत दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्ने गरिन्छ । चरन क्षेत्रमा देखिएको समस्याका कारण व्यवसायमा नै संकटमा पर्न थालेकोले परापूर्व काल देखि नै भेडा हिडाउने, चराउने र बास बस्ने ठाउँमा देखिएको अवरोध हटाउनका लागि सरकारले नै पहल गर्नु पर्ने भेडा पालकहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV