३० पुष २०७५, सोमबार

बझाङ । एक चक्की सिटामोलका लागि ८ घण्टाको पैदल हिड्ने ठाँउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय बासिन्दा खुःसी भएका छन् । सुर्मा गाँउपालिकाको वडा नम्बर २ गजौनमा गजौन ग्रामीण सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको हो । विहीबार एक कार्यक्रमका विच गाँउपालिकाले उक्त गजौन ग्रामीण सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरेको हो ।

एक जना अहेब सहित नर्सहरु राख्ने गरि गजौन ग्रामीण सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा सुचारु गरेको सुर्मा गाँउपालिकाका प्रवक्ता पुष्कलबहादुर बोहराले बताउनु भयो । गाँउपालिकाको झण्डै ५ लाख भन्दा बढीको लागतमा भवन निर्माण गरि स्वास्थ्य सेवा संचालनमा ल्याएको उहाँले बताउनु भयो ।

गजौनमा ग्रामीण सामुदायिक स्वास्थ्य इकाई स्थापना भई सेवा संचालनमा आए पछि यहाँका स्थानीयबासिन्दा हर्षित बनेका छन् । एक ट्याब्लेट सिटामोलका लागि झण्डै ८ घण्टाको पैदल हिडेर सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पताल तथा तल्कोट गाउपालिकामा रहेको सुनिकोट स्वास्थ्य चौकी पुग्नु पर्ने समस्या थियो ।

अबदेखि त्यो समस्याबाट आफुहरुले छुटकारा पाएको वडा नम्बर २ कि महिला स्वास्थ्य स्वयम्सेविका चखीदेवी बोहराले बताउनु भयो । सामान्य टाउको दुख्दा, हात खुट्टा काँटिदा उपचारका लागि कि चैनपुर र कि सुनिकोट पुग्नु पर्ने बाध्यता थियो । अब त्यो समस्या हटेको छ ।

कतिपय त सामान्य रोग लाग्दा अस्पताल सम्म जान मान्दैन थिए । लामो र अफ्टेरो बाटो भएका कारण रोग बल्झी सके पछि मात्रै उपचारका लागि जाने गरेका थिए । तर अब यस्ता सबै समस्याको समाधान भएको छ बोहराले भनिन् “महिला स्वास्थ्य स्वयम् सेविकाको हातमा समेत औषधि हुदैन थियो, अब औषधि पनि पाईने, गाँउमा नै स्वास्थ्य इकाई भए पछि राम्रो भएको र खुःसी लागेको छ ।”

यस वडामा स साना बालबालिकाहरुले समेत खोप लगाउन छुट्ने गरेका थिए । स्थानीय महिला तथा आमा समुहकी अध्यक्ष मिनादेवी बोहराले कतिपय गर्भवती महिलाहरुले अकालमा ज्यान समेत गुमाएका बताउदै अब यस्ता समस्याबाट स्थानीयवासीले छुटकारा पाएको चचा गर्नु भयो । उहाँले ससाना बालबालिकाहरुले पनि स्वास्थ्य समस्याबाट छुटकारा पाउने भन्दै खुःसी समेत ब्यक्त गर्नु भयो । साथै उहाँले स्वास्थ्य संस्थानै गाँउमा आँउदा वास्तवमा नै सरकार आएको अनुभुति आफुलाई भएको समेत बताउनु भयो ।

यहाँको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाँउपालिकाको सहयोगमा गजौन ग्रामीण सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सेवा संचालनमा ल्याएको वडा नम्बर २ का वडा अध्यक्ष खडक बहादुर बोहराले बताउनुभयो । यस गाँउमा झण्डै १५० भन्दा बढी परिवार बसोबास गर्दछन् ।

गाँउपालिकाको हिसाबले अलि दुर्गम ठाँउ भएका कारण यहाँ गाँउपालिका र यहाँका जनप्रतिनिधिहरुले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको उहाँले बताउनु भयो । अब देखि कुनै पनि बालबालिकाहरुले खोप लगाउनबाट बन्चित हुन नपर्ने र अकालमा गर्भवती महिलाहरुले ज्यान गुमाउन नपर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV