३० पुष २०७५, सोमबार

काठमाडौँ । बजार खुल्नेबित्तिकै शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएपछि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर काराेबार रद्द गरिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर
सबै कारोबार रद्द गरेको हाे । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोबार भएका कारण कारोबार रद्द गर्नुपरेको जानकारी दिए ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज बजार खुल्नेबित्तिकै दुई लाख ४३ हजार कित्ता शेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको सङ्ख्या बढे पनि बिक्री गर्न चाहने भने एकजना पनि देखिएको थिएन । 

नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशतभन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोबार हुनुहुँदैन । तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर रु ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्
LIVE TV