३० पुष २०७५, सोमबार

काठमाडाैँ । पेट्रोलियम पाइपलाइनका प्राविधिक काम टुंग्याउन नेपाल–भारतबीच संयुक्त बैठक बस्ने भएको छ ।

पाइपलाइनमार्फत नेपाल भित्रिने पेट्रोलियम पदार्थको भन्सार जाँचपास र मिटर जडान गर्नेबारे नेपाल–भारतबीच बुधबार छलफल हुने भएको छ ।

बैठकमा नेपाल आयल निगम, भारतीय आयल निगम र नेपाल–भारत भन्सार प्रतिनिधि सहभागी हुने बताइएको छ । बैठकले पेट्रोलियम पदार्थ आउने पाइपमा मिटर जडान गर्ने स्थान र भन्सार नियमन टुंगो लगाउनेछ ।

भारतीय पक्षले रक्सौलमा र नेपाली पक्षले अमलेखगञ्जमा मिटर राख्ने तयारी गरेका छन् । पाइपबाट तेल आउँदा एकैपटक २ सय ५० वटा ट्याङ्कर बराबर तेलको भन्सार जाँचपास हुने नेपाल आयल निगमले जनाएको छ ।

पहिलो चरणमा ७२ किलोमिटर पाइपलाइनको निर्माण भइरहेको छ । भारततर्फको पाइप बिच्छ्याउने काम वीरगञ्ज भन्सारस्थित सिमानामा पुगिसकेको छ । नेपालतर्फ पनि पर्सा बन्यजन्तु आरक्षमा रुख कटानको काम भइरहेको छ ।

पाइपलाइन आयोजना सम्पन्न भएपछि नेपालले ढुवानीमा गर्दै आएको ठूलो खर्चको कटौती हुनेछ । अहिले वार्षिक करिब एक अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ ढुवानीमा खर्च भइरहेको छ । यो खर्च कटाएसँगै पेट्रोलियम पदार्थको मूल्य पनि समायोजन हुने निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV