२९ पुष २०७५, आईतवार

देवराज पन्त
मकवानपुर, २९ पुष । नेपालमा पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु बढ्दो छन् । सवारी दुर्घटनाको कारणमा सडकको अवस्था, चालकको लापरवाही, सवारीको यान्त्रिक कमजोरी, अधिक गति, बढी भारवहन जस्ता कारणहरु हुने गरेका छन् ।

यसको अलावा सवारी चालकको स्वास्थ्य स्थितिका कारण पनि सवारी दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भई सकेको छ । यसै सन्दर्भलाई दृष्टिगत गरी प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सातवटै ट्राफिक प्रहरीलाई सार्वजनिक सवारी चालकको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ । यस कार्यका लागि स्थानीय अस्पताल, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायसँग समन्वय गरी कार्य गर्न निर्देशन दिएको छ ।

मकवानपुर ट्राफिक प्रहरीले आईतबार हेटौंडाको थाना भ¥याङ्गमा सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य जाँच कार्यक्रम गरेको छ । स्वास्थ्य जाँचमा चालकहरुको उच्च रक्त चाँप, आँखाको दृष्टि लगायतको निशुल्क जाँच गरिएको थियो ।

स्वास्थ्य शिविरमा जाँच गराएका चालकहरुमा उच्च रक्तचाप, अत्याधिक तनाव, आँखाको दृष्टिमा कमी देखिएको र यसका लागि चिकित्सकले एक साता भित्र औषधि गर्न उनीहरुलाई सिफारिस समेत गरेका छन् । कतिपय चालकहरु धुवाधुलोको सामना गर्दै सवारी चाउने बाध्यताका कारण उनीहरुमा टाढाको दृश्य ठम्याउन कठीन देखिएको नेत्र चिकित्सकको भनाई रहेको छ । स्वास्थ्य जाँच आफ्ना लागि आवश्यक र फाईदाजनक रहेको सहभागी चालकहरुले प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य जाँचबाट चालकको स्वास्थ्यका कारण हुने दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीले विश्वास गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्रकुमार ठाकुरले बताएका छन् । करीब १ सय ५० जना चालकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य जाँचबाट अधिकांश चालकहरुमा आँखाको एलर्जी, उच्च रक्तचापको समस्या देखिएको र उनीहरुलाई सम्बन्धित नजिकको अस्पतालमा स्वास्थ्य समस्या निराकरण गर्न सुझाव दिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV