
राजु पौडेल
पाँचथर, २९ पुस । पाँचथरको फिदिममा जारी दशौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा ११ एफसी भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् ।
आइतबार फिदिमस्थित फिदिम माविको खेलमैदानमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि तयार रहेको बताएका हुन् । झापा–११ का प्रशिक्षक प्रवेश कटुवाल उपाधि जित्न पूर्ण आत्मविश्वासी देखिए । ‘हामी यहाँ उपाधि जित्न आएका हौं, आर्मी उत्कृष्ट टोली हो तर हामीसँग पनि अनुभवी खेलाडीहरु छन्’ उनले भने, ‘हामीले त्यसको पूर्ण फाईदा उठाउने छौं ।’
उनले आर्मीको दोस्रो रोजाईको खेलाडी भनेर विपक्षीलाई हलुका रुपमा नलिने समेत स्पष्ट पारे । यसका साथै प्रशिक्षक कटुवालले फाइनल खेलका लागि थप सिनियर खेलाडीहरुलाई नउतार्ने समेत स्पष्ट पारे ।
झापाका कप्तान कर्ण लिम्बुले आफू फाइनल खेलका लागि फिट हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै लिम्बुले भने, ‘म सेमिफाइनलमा घाइते भएको थिएँ । यद्यपि फाइनलका लागि म पूर्ण रुपमा तयार छु ।’ उनले न्यानो माया र समर्थनका लागि फिदिमका समर्थकहरुलाई धन्यवाद समेत दिए ।
यता आर्मीका प्रशिक्षक गंगाराम देउजाले झापाली खेलाडीहरुको भन्दा आफ्नो ‘टिमको टिमस्पिड’ र ‘स्टामिना’ राम्रो भएकोले उपाधि जित्ने दाबी गरे । ‘हाम्रो युवा टोली भए पनि टिमवर्क र टिमस्पिड राम्रो भएकाले उपाधि हामी जत्नेछौं’ देउजाले भने । आर्मीका कप्तान युद्ध शाहीले उपाधिको लागी मैदानमा अन्तिम समयसम्म प्रतिस्पर्धा गर्ने बताए ।
दर्शकको भरपुर समर्थन पाउदै आएको झापा आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्रने तयारीमा छ । आर्मी भने केही अनुभवी खेलाडीसहित दोस्रो सेटका साथ मैदान उत्रदैछ ।
फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थियो ।