२८ पुष २०७५, शनिबार

तारा आचार्य

विराटनगर, २८ पौष । नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजय गच्छेदारले डा. गोविन्द केसीसंग गरेको सहमति कार्यान्वयन गराउन नेपाली कांग्रेस जोडदार रुपमा लाग्ने बताउनु भएको छ ।

शनिवार विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उपसभापति गच्छेदारले राज्यले आफैले गरेको सहमति कार्यान्वयन नगर्ने हो भने सरकार प्रति जनताको अविश्वास बढ्ने भएकाले सहमति कार्यान्वयनमा लाग्ने बताउनु भयो । उहाँले राज्यले जो सुकै र जे शर्तमा गरेको सहमति भएपनि कार्यान्वयन गर्नैपर्ने बताउनु भयो ।

उपसभापति गच्छेदारले सरकारकै कारण संघीयता असफल हुने अवस्थामा पुगेको बताउदै संघीयता कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले मुलुकमा संघीयता पहिलो प्रयोग भएकाले केही समस्या देखिएको भएपनि संघीयता असफल हुने सम्भावना नभएको धारणा व्यक्त गर्नुभयो ।

उपसभापति गच्छेदारले महासमिति बैठक पछि नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढेको र गुट उपगुटको भविष्य नरहेको बताउदै कांग्रेस पार्टी भित्र मिलेर जानुको विकल्प नभएको धारणा राख्नु भयो ।

LIVE TV