२८ पुष २०७५, शनिबार

अमर काफ्ले,

इनरुवा । ओभरको अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा टिमलाई जित दिलाएका छन् ।

सुनसरीको इनरुवामा जारी प्रतियोगितामा प्रदेश ४ लाई जितका लागि अन्तिम ओभरमा ४ रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेका एपीएफका कमल सिङ ऐरीले ५ डट बल फयाल्दै कुनै पनि रन दिएनन् ।

अन्तिम ओभरको अन्तिम बलमा जितकालागि चार रन आवश्यक रहेको अवस्थामा क्रिजमा रहेका मेख बहादुर सेनले चौका प्रहार गर्दै टिमकालागि रोमाञ्चक जित दिलाए । ९ जना ब्याट्सम्यान पेविलियन फर्किसकेको अवस्थामा प्रदेश ४ का पुछारका ब्याट्सम्यान मेख बहादुर सेन र राजु गुरुङले नटआउट ११ रन जोडेपछि प्रदेश नम्वर ४ ले विभागिय टोली एपीएफलाई १ विकेटले पराजित गरेको हो ।

एपीएफका अनिल साहले ४ विकेट लिएपनि टिमलाई जित भने दिलाउन सकेनन् । एपीएफले दिएको २ सय १६ रनको लक्ष पछ्याएको प्रदेश ४ लाई आफ्नो पहिलो खेलमा जित दिलाउन अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पुरा गरे । गुरुङ ६४ रन बनाएर आउट भए भने श्रेष्ठले ६१ रनको पारी खेले । मन्जिल न्यौपानेले टिमको खातामा ३१ रन जोडे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । एपीएफकालागि इसाद अहमदले नटआउट ३० रनको पारी खेले । एपीएफकालागि भुवन कार्कीले ३६ रन बनाए भने अनिल साहले २६ रन जोडे ।

प्रतियोगिताको म्यान अफ द म्याच विधान श्रेष्ठ घोषित भए । भोलिको खेल प्रदेश १ र प्रदेश ४ बिच हुने छ ।

LIVE TV