रवि लामिछानेतिर सोझिएको मेरो यो साता



प्रकाशित मिति : Jan 12, 2019

विनोद त्रिपाठी,

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र,
माटोलाई चोट लाग्दा माटोहरु रुनुपर्छ ।

गीतकार दिनेश अधिकारी संगीतकार आलोक श्री र गायक स्वरुपराज आचार्यको यो गीत जोकोहीले सुन्दा उ भित्र एउटा प्रेम पैदा हुन्छ । देशप्रेम भन्नुस वा मानवीय प्रेम । तर, उ मानिस हुनुपर्छ । मानिसले मानिसलाई कहिल्यै चोट दिन हुँदैन ।

चोट दिएर आँफै भित्रको हृदयले कहिल्यै माफी दिंदैन । अरुको मन दुखाउँदा कुनै दिन आफ्नै मन दुख्छ । जन्मजात अपराधी गुण हुनेले बेलाबेलामा ट्वांग ट्वांग चोट दिन्छन् । घृणाले बास गरेपछि अपराध जन्मने हो । हाम्रो जीवनमा प्रेम भएन भने घृणाले बास गर्छ ।

घृणाले बास गरेपछि अरुलाई चोट दिन मन लाग्छ । प्रेम रित्तिएकाहरुले चोट दिने गर्छन् । जो प्रेमी छ, उसले माफी दिन्छ । माफी त केवल मानिसले मात्र दिन्छ । जनावरमा माफी दिने चलन हुँदैन । हामी मानिस बन्ने कि जनावर बन्ने ? यो हाम्रै हातमा छ ।

रवि लामिछानेको अकारण आलोचना

अघिल्लो साता रबीन्द्र अधिकारी, रवि लामिछाने, रेशम चौधरी एकाएक हामीबीच चर्चामा छाए । तिनैजनाका चर्चाका कारण निकै भिन्न थिए र छन् । म दुई पात्रलाई छोडेर रविजीको चर्चा गर्न गइरहेको छु । रवि टेलिभिजन चर्चित पत्रकार हुन् । उनिसंग मेरो ब्यक्तिगत चिनजान थिएन ।

तर, यो साता म अनौठो तर अप्रत्यासित रुपमा उनिसंग जोडिए । उनको ब्यक्तिगत बिषयमा अनेक हल्ला चलेपछि मनले नमानेर एउटा सानो स्टाटस फेसबुकमा राखें । २०७५ पुस २१ गते शनिबार ठीक ४ बजेर २० मा मनको बिचार पोखेको थिएं । त्यो स्टाटस न्युज २४ अनलाइनमा प्रकाशित भएछ । एकैछिनमा हजारौंको शेयरले भाइरल भएछ । यो शनिबारसम्म पनि शेयर जारी छ । त्यसपछि रविसंग जोडिएका फ्यानहरु मतिर सोझिए ।

फेसबुकमा फ्रेण्ड रिक्वेष्टदेखि सन्देशहरु धमाधम आउन थाले । बधाइका बधाइ, धन्यबादका सयौं सन्देशहरु । यो साताभरि ४८ सय भन्दा बढिले रिक्वेष्ट पठाए । पहिल्यै ५ हजार पुगेकोले स्वीकार गर्न सकिरहेको छैन । काँटछाँट गर्दे केहिलाई स्वीकारेपनि रिक्वेष्ट आउनेक्रम जारी छ । धेरैले फेसबुक पेज बनाउन पर्यो भनेर अनुरोध गरिरहेका छन् । यसरी, रवि जीका आँधीका छिटा मतिर पनि आइपुगे । प्रतिक्रियात्मक तर, मिठास् ।

चारदिनदेखिको उथलपुथलबीच रविजी र म बुधबार (अस्ति २५ गते) भेट्ने तय भयो । आफ्नै सवारी साधन नभएकोले साथी पारस पोखरेललाई बोलाए । उनि एक अनलाइनका जिम्मेवार प्रधानसम्पादक हुन् । उनको कारमा रविजीले भनेकै मुकामतिर दिउँसोको साढे १ बजे पानीपोखरी महाराजगञ्जतिर सोझियौं । वीरेन्द्र प्रहरी अस्पताल जाने चोकैमा रहेछ ।

फेरि फोन गरें, कहानेर हो म आइपुगें । जहाँबाट मैले फोन गरेको थिएं, त्यहाँ ठुलो भीड थियो । भीडले हाम्रो कार जाममा फँस्यो । म भीडकै बिचमै ओर्लिएं । मलाई फोन आयो, कहाँ हुनुहुन्छ ? भनें, ‘म चोकको भीडमा अड्किएको छु ।’

रविजीका सहकर्मी भीडकै बिचमा मलाई लिन आएका रहेछन् । गेट भित्र पस्न लाग्दा मनले नमानेर भीडतिर फर्किएं म । सोधें, तपाईहरु किन के का लागि आउनुभएको हो ? भीडबाट अनेक जवाफ मतिर फर्किए,‘रवि दाईलाई भेट्न मन थियो, कतिबेला पालो आउला ?

रवि सरले न्याय दिनुहुन्छ भनेर आएको । हाम्रा गाउँका नेताले भ्रष्टाचार गरेका छन् । रवि दाईले भ्रष्टाचारीलाई कारवाही गर्नुहोला भनेर आएको । हाम्रो टोलतिर महिला माथि अत्याचार छ, पत्रकारहरु बोल्दैनन्, प्रहरीले कारवाही गर्देनन्, रवि दाईसंग उजुरी गर्न आएको हो । बिदेशमा भाईले दुःख पाएको छ, उसलाई नेपाल फर्काउन रवि दाईसंग भन्न आएको ।

प्रदेशका मन्त्रीले काम गरेनन्, तलब मात्र लिन्छन् भन्न आएको । हाम्रो गाउँमा अस्पताल छैन, भन्न आएको ।’ अर्को युबाले चर्को स्वरमा बोले,‘रवि दाई माथि अन्याय हुँदैछ, हामी कुर्न आएको ।’ मैले फेरि सोधें, रविजीले बोलाएर आउनु भएको हो ? भीडबाट अर्कोले उत्तर दियो,भगवानले कहिल्यै बोलाउनुहुन्छ र ? हामी आँफै आएको ।’

हे राम, मुलुकमा के भएको यो । के न्याय मरेकै हो ? न्याय खोज्न एक बबुरो रबि कहाँ ? हैट । अनेक कुरा मनमा खेल्न थाले । मैले अनुमान गरेको थिएं, कुनै सरकारी कार्यालय होला, जागिर खान वा कुनै बिल तिर्न लागेको भीड होला । तर यहि भीडबाट घेरिएको मुकाम नै रविजीको कार्यालय रहेछ ।

मनमा एकप्रकारको खुल्दुली र मेरो देशको अबस्थाको चित्र मानस्पटलमा खेलाउँदै म भित्र छिरें । कार्यालयका सोफा, कुर्सी, बेञ्चभरि मानिसहरु भरिएका थिए । सहकर्मी दिपक बोहोराले मलाई एकैछिन आफ्नै कार्यकक्षमा रोकाउनुभो । केहि मिनेटपछि मलाई रविजीको कार्यकक्षमा पुर्याएर दिपक जी फर्कनुभो । रविजी र मेरो यो पहिलो भेट थियो ।

हामीले एकअर्कालाई ब्यक्तिगत रुपमा यस अघि चिन्दैनथ्यौं । हात मिलाउने बित्तिकै रबिजीले मप्रति मनदेखि नै आभार ब्यक्त गर्नुभो । मैले पनि थप सफलताको कामना गरें । मेरो सानो स्टाटसले रविजीलाई अगाडिको बाटो हिंड्न जागृत बनाएको रहेछ । कफी खाँदै केहि कुरा आदानप्रदान गरेपछि म निस्किएं । मैले रविजीको धेरै समय लिन उपयुक्त ठानिन । हजारौं न्याय खोज्न आएका निरिह अनुहारहरु गेटमा उभिएका थिए । फेरि भेट्ने बाचा गर्दे पारसजी र म त्यहाँबाट बाहिरियौं ।

साथी पारसले मलाई फर्कंदा सुनाए, ‘हाम्रो देशमा अहिले भीड तिन स्थानमा हुन्छ, पहिलो त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, दोस्रो श्रम कार्यालय र तेस्रो रवि लामिछानेको मुकाममा ।’

रवि लामिछाने र हाम्रो दम्भ

मैले धेरै जिल्लामा रहेर समाचार लेखें । माओबादी द्धन्द्धकालमा मैले लेखेकै समाचारले धेरैले पुनर्जन्म प्राप्त गरेका छन् । तत्कालीन माओबादीले जर्बजस्ती उठाउन लागेका करोडौं चन्दा पनि मेरै समाचारले रोकिएका थिए । त्यतिबेला माओबादीले सफाया गर्ने पहिला पत्र पठाउँथे । पछि अन्तिम चेतावनी दिन्थे ।

उनिहरुले भनेको नमाने साँच्ची नै सफाया (हत्या) गर्थे । तर, मैले पत्र पठाउने बित्तिकै समाचार प्रकाशित गर्थें मैले काम गर्ने कान्तिपुर पत्रिकामा । त्यतिबेला अहिलेको जस्तो एफएम रेडियो, अनलाइन, सामाजिक सञ्जाल र मिडियाको कुनै नेटवर्क थिएन ।

कान्तिपुरकै समाचार प्रधान हुन्थ्यो । समाचार छापिएपछि कतैबाट अदृष्य शक्तिले सफाया नगर्नु भनेर स्थानीय माओबादीलाई खबर आउँथ्यो । त्यसरी, धेरैलाई ज्यान बचाउँन सफल भएका दृष्टान्तहरु सम्झंदा मन आनन्द भइरहन्छ । जोखिमपूर्ण समाचार लेखेर तर कहिल्यै माफी नमागिकन पत्रकारितामा म दरिएको थिएं ।

अहिले पनि ति संग्रहित पत्रिकाको भण्डार देख्दा आँफैले धनाढ्य बिनोद चौधरी जस्तै सम्झन्छु । न्यायको लागि अमिर । तर, अतितका सबै योगदानहरु बर्तमानले ओझेलमा पार्दोरहेछ । रविजीसंगको साक्षात्कारपछि मन भित्रबाट यस्तै यस्तै बिगतका कुरा सम्झेर मेरो पनि शीर ठाडो भएको महसुस भयो ।

रविजीलाई भेटेर फर्किएपछि मनमा अनेक प्रश्न उब्जिए । के अहिले हाम्रो पत्रकारिता सोहोरिएर रवि लामिछाने कहाँ मात्र पुगेको हो ? कुनै मिडियामा न्यायका लागि यो भीड होला ? कुनै सम्पादक वा बरिष्ठ पत्रकारहरुसंग यसरी नागरिकहरु हारगुहार माग्दै होलान ?

फेरि मेरो मन सरर नेपालका पत्रकार र मिडिया हाउसतिर दौडियो । बिभिन्न जिल्ला हुँदै अहिले म नेपालको केन्द्रीय राजधानी काठमाडौमा पत्रकारिता गर्छु । धेरै अग्रज, बरिष्ठ, समान तहका र जुनियरसम्मका पत्रकारहरुसंग मेरो भेटघाट हुन्छ । सबै ब्यस्त छन् । आआफ्नो काम गरेकै छन् । सबै मिडिया हाउस पनि चलेकै छन् । समाचारको बिरोधमा उत्रिएकाहरुको मात्र कहिलकाँही मिडिया हाउसमा भीड देख्छु ।

मिडियाकर्मीसंग जनताले के अपेक्षा राखेका हुन्छन्, एकैछिन रवि लामिछानेलाई पढे हुन्छ । यसको अनुभव मैले यो साताभरि भरपूर अनुभव गरें । महात्मा गान्धीले भनेका थिए, ‘मान्छेलाई सात पाइला हिंडेपछि चिनिन्छ ।’ रविजीको बारेमा मेरो पूरै सात दिनको अनुभव भयो । केहि महिना अघि रविजी अमेरिकन नागरिक भएको चर्चा चल्यो । उनले चर्चा चल्नु अघि नै त्यहाँको ग्रिनकार्ड त्यागिसकेका रहेछन् ।

संयोगवस म केहि सिनियर पत्रकार बिचमा रविजीको चर्चा गर्न पुगें । अधिकांशले रविजी प्रति सकारात्मक देखाएनन् । यसलाई मैले सामान्य रुपमा लिएको थिएं । जब पछिल्लो पटक इशा जि र रविजीको सम्बन्धबिच्छेदको चर्चा आयो, यहि बिचमा अलिकति जानकारी लिने इच्छा मनमा आयो । यो साताभरिको मेरो अध्ययनले रविजीका बारेमा एउटा स्पष्ट धारणा मलाई बनाइदिएको छ ।

प्रतिहिंसामा हाम्रो मानसिकता

जब समाज लैंगिक मित्रताबाट टाढा हुन पुग्छ, तब हिंसाका बिभिन्न रुपहरु सृजना हुन्छन् । हरेक क्षेत्र, बर्ण, जात, धर्म र पेशाका मानिसहरु एक आपसमा प्रेम गर्न थाल्छन् अनि समाज हिंसारहित बन्न पुग्छ । घर, परिवार, समाज र देश भित्र मिलन र प्रेमको धरातलमा उभिनुपर्छ ।

ब्यक्ति ब्यक्तिका प्रेम, सम्बन्ध, बिछोडका सन्दर्भहरु हरेकलाई जिज्ञासा लाग्नु स्वभाविक हो । अझ केहि चर्चामा छाएका ब्यक्तिका प्रसंगहरु पनि स्वभाविक बन्ने गर्छन् । तर, यहाँ अन्तरंग सम्बन्धहरु बाहिर बजारमा उछालिन्छ । यहि बिचमा बिभिन्न मसंग जोडिए । युरोपको एक चेक रिपब्लिक बस्ने म्याडमले मसंग भन्दै हुनुहुन्थ्यो,‘के भएको हो हाम्रो समाज ?

कस्ले के लगायो, के खायो, कस्को कोसंग सम्बन्ध, प्रेम, बिछोड यस्ता नानाथरिका कुरा नेपालीलाई कति चासो होला ? मलाई हाम्रो समाज देखेर निकै दिक्क पो लाग्यो विनोद जी ।’ उहाँले यस्तै दिक्क लाग्ने मात्र होइन, ब्यक्तिगत जीवन समाप्त पारेर रमाउन नेपाली किन यति बिघ्न सिपालु भएका होलान भनेर निकै चिन्ता प्रकट गर्नुभो ।

अहिले हाम्रो समाजमा बिश्वलाई नै स्तब्ध पार्ने कति ठूला हिंसा भइरहेका छन्, हामी त्यता बोल्दैनौं , तर ब्यक्तिगत बिषयलाई बाहिर ल्याएर ताली पिट्दै रमाइरहेका हुन्छौं । १८ उमेर पुगेपछि हुने बिभिन्न प्रकारका सम्बन्धहरु आँफैमा जायज हुन्छन् । त्यो अधिकार हाम्रा कानुनले दिएको छ । अतितका बिभिन्न कालखण्डका कुराहरुलाई कोट्याएर गर्ने चित्रण सबैभन्दा ठूलो प्रतिहिंसा हो । यो एक प्रकारको अपराध नै हो ।

यहि बिषयमा मैले अघिल्लो लेखमा लेखिसकेको छु । यस प्रकारको दुराग्रह प्रतिहिंसाले लैंगिक दरार बढाउने मात्र होइन, समाज बिस्तारै कुरुप बन्दै जान्छ । किन यस्तो प्रतिहिंसा जन्मियो ? यो गम्भीर प्रश्न हामी सामु तेर्सिएको छ ।

स्वतन्त्रता हराएको पत्रकारिता

३÷४ दिनदेखि मलाई केहि सहकर्मीले भने,‘तपाई जस्तो एउटा तहमा पुगिसकेको पत्रकारले यस्ता साना बिषयमा लेख लेख्न सुहाएन सर । तपाईको लेवलबाट यस्ता बिषयमा बहस गर्न उपयुक्त होइन । छोड्नुस सर ।’

हुन त उनका यी कुराले मप्रतिको सम्मान दर्शाउँछ । तर, हामी जति माथि र ठूलो पदमा पुगेपनि समाजका विकृत पक्षमा नबोल्ने हो भने सिंगो राजनीति र देशलाई नै प्रदुषित पार्छ भन्ने लागेर यो कुरा लेखेको हुँ । पत्रकारिताको दौरानमा मैले धेरै उच्च ब्यक्तिसंग संगत गरेको छु ।

उच्च ब्यक्ति मध्ये पूर्व राजा ज्ञानेन्द शाह बाहेक सबैसंग मैले कुनै न कुनै रुपमा साक्षात्कार गरेको छु । पूर्वप्रधानमन्त्री झलनाथ खनालसंग बागलुङमा रहँदा एउटै होटलको एउटै कोठामा सुतेको छु । जतिबेला उनि तत्कालीन एमालेका बिदेश बिभाग प्रमुख थिए ।

पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामबहादुर थापा लगायतसंग शान्ति प्रक्रियामा धेरै पटक प्रत्यक्ष भेटघाट गरेको छु । पुष्पकमल दाहालको वुवा स्व.मुक्तिरामको समाचार मिडियामा मैले नै पहिलो पटक सार्बजनिक गरेको थिएं । अहिलेको भेटघाट जस्तो थिएन त्यो क्षण ।

त्यतिबेला यस्ता भेटघाट निकै महत्वपूर्ण हुन्थ्यो । केपी ओलीसंग २ दिन मुस्ताङ बसेको छु । माधब नेपालसंग दिनभरि जोमसोममा डुलेको छु । शेरबहादुर देउवा, गगन थापादेखि धेरै राजनीति नेताहरुसंग कुनै न कुनै क्षण भेट भएका छन् । पत्रकारिताको दौरानमा ब्यबसायीक दृष्टिकोणले एकाध बाहेक एकैछिन होस वा नियमित कुनै न कुनै समयमा नेताहरुसंग भेटघाट भएका छन् ।

अहिले यस्ता भेटघाटको कुरा लेख्दा धेरैलाई हाँसो लाग्छ होला । किनकी यी सबै नेताहरुलाई सामान्य नागरिकले दैनिक भेटेकै हुन्छन् । मैले यहाँ भन्न खोजेको भेटघाट ठूलो कुरा होइन, उनिहरुलाई क्षणभरमै पढ्न सक्नु ठूलो कुरा हो । नभेटिकन हल्लाको भरमा कुनै ब्यक्तिको चित्रण गर्नु र एकैछिन भेटेर त्यो ब्यक्तिको मूल्यांकन गर्दा बन्ने धारणामा धेरै अन्तर हुन्छ भन्न मात्र खोजेको हुँ ।
काम गर्ने दौरानमा म कहिल्यै कुनै पार्टी पत्रकारिता नगरेकोले यो उच्चारण गर्न बाध्य भएको हुँ । अधिकांश सम्पादक र पत्रकार कि गैरसरकारी संस्था कि राजनीति दलसंग जोडिएका छन् । यी दुबैसंग नजोडिएका पत्रकार सायद औंलामा गन्न सकिने होलान् । एनजिओ चलाएका पत्रकारको आफ्नै दम्भ छ । उनिहरु राम्रा बिषयमा बोल्दैनन् । नराम्रा बिषयहरु निकै उछाल्छन् ।

उदाहरणकै लागि सामाजिक सञ्जालमा पोखिएका राम्रा बिषयमा लाइक र सकारात्मक कमेण्ट गर्न उनिहरुको हात जाँदैन । उनिहरु हामीहरुले लेखेका लेख पढ्छन्, सिक्छन्, र आफ्नो धारणा बनाएर आफ्नै कथित मौलिक बिचार भन्दै लेख लेखेर पत्रकारिता र आफ्नो संस्था चलाएका छन् । अर्कोतिर, दलगत पत्रकारिता झनै फस्टाएको छ । उनिहरु दलको आलोचना आउने बित्तिकै ब्यक्तिकै पछि लागेर सिद्ध्याउने खेल खेल्छन् । नेपालमा त झन बिश्वमै नभएको दलगत पत्रकारिता हावी छ ।

अन्य देशमा बिपक्षी पार्टीले मिडियाबाजी गर्न आफ्नै मिडिया चलाउँछन् । तर, नेपालमा सत्तापक्षले निकटका पत्रकार खटाएर बिभिन्न मिडिया चलाउन लगाएका छन् । सरकारका त आफ्नै मिडिया हुन्छन् । त्यतिले नपुगेर सत्तारुढ दलका कार्यकर्ताहरु बिभिन्न मिडिया चलाएर सरकारको पक्षपोषण गर्ने र बिरोधीहरुलाई सिद्ध्याउन लागीपरेका छन् ।

अहिले रवि लामिछानेसंग खेलिएको खेल यहि माथि उल्लेखित पत्रकारिताको परिणाम हो । यो जस्तो डर लाग्दो अधिनायकबादको अभ्यास के हुन सक्छ ?

घर नबनाउनेले देश किन बनाउँदैन ?

कुनै महानुभावहरु भन्दै थिए, आफ्नो घर नबनाउनेले समाज कसरी बनाउला ? ति मित्रहरुलाई के थाहा घरको स्वार्थसंग जोडिएको जीवन कति भ्रष्ट कति स्वार्थी हुन्छ भनेर । अहिले परिवारकै लागि हरेक नेतादेखि सामाजिक भन्ने ब्यक्तिहरु भ्रष्टाचार, घुसखोरीमा जकडिएका छन् । परिवारको सुखको लागि आफ्नो आर्थिक उन्नतिका लागि ।

जब पारिवारिक मोह बढ्दै जान्छ, अनि मानिस भ्रष्ट हुने हो । घर बिगार, देश बनाउ , यो पनि भन्न खोजेको होइन । बिश्वमा धेरै यस्ता उदाहरणहरु छन्, जस्ले आफ्नो घर चलाउन सकेनन्, ब्यक्तिगत घर बसाउन सकेनन्, तर संसार नै परिवर्तन गरेर देखाइदिएका छन् ।

अमेरिकी नागरिक अब्राहम लिंकन सन १८६१ मा १६ औं राष्ट्रपति हुँदा उनि दोस्रो बिवाह गरेर पनि एक्ला थिए । फेरि संयोगबस उनले तेस्रो बिवाह गरे । त्यति गर्दा पनि उनि एक्ला भए । बिभिन्न सन्तानका ४ सन्तानका पिता लिंकन श्रीमतीको पीडाबाट रन्थनिएर कहिल्यै ढोकाबाट निस्केर कार्यालय गएनन् । सधैं झ्यालबाट निस्केर उनि कार्यालय जान्थे ।

कारण थियो, श्रीमतीले देख्लिन र कुनै न कुनै दिक्दार दिन्छिन् भनेर । उनै लिंकनले पूरै बिश्वमा रंगभेद काला र गोरा जाति बिचको भेद अन्त्य गरे । यहाँ भन्न खोजेको कुरा ‘सम्बन्धबिच्छेद गर्दे जाउ, समाज सेवा गर’ यो पनि होइन ।

बिश्वमै त्यागको उदाहरण बनेका बैज्ञानिक अब्दुल कलाम भारतको ११ औं राष्ट्रपति मात्र बनेनन्, उनले आफ्नो कुनै परिवार नै बसाएनन् । तर, उनका जिवनमा सयौं केटी र महिलाहरु जोडिएर आएका थिए । २००२ देखि २००७ सम्म राष्ट्रपति हुँदा उनले एक दर्जन महिला सहकर्मीलाई निकटका साथी बनाएका थिए । तर, यो बिषयमा उनि बिबादमा आएनन् । किनकी उनले कसैलाई पीडा दिएनन् ।

महात्मा गान्धी जस्ले सत्याग्रह मार्फत नै भारतलाई ब्रिटिश सरकारबाट मुक्त गर्न सफल भए, उनलाई पनि बिभिन्न महिलाहरुसंग नाम जोडिएर आलोचना गरियो । गान्धीको मुख्य रुची नांगै केटीहरुसंग सुत्ने थियो भन्ने हामीले बिभिन्न पुस्तकहरुमा पढ्न पाउँछौं । नेपालमा पनि कृष्णप्रसाद भट्टराई अविबाहित भएपनि बिभिन्न महिलासंग उनलाई जोडेर उनलाई प्रचार गरियो । हुन त उनि स्वंयले किनेरै खान पाइन्छ भने किन गाई पाल्ने ? भनेर आफ्नो अबिवाहित जीवनको प्रसंगमा भनेका थिए ।

नेपालका कम्युनिष्ट गुरु हालका सबै कम्युनिष्टहरुका पनि हेडमास्टर मोहनबिक्रम सिंहले ७० बर्षको उमेर हाराहारीमा तेस्रो बिवाह गरे । उनलाई पनि कुनै रहर थिएन, आफ्ना पुराना सम्बन्ध भत्काउँदै जाउँ, नयाँ नयाँ बिबाह गरौं । यस्ता हजारौं उदाहरण छन्, जुन हामीले पाठ सिक्न सक्छौं । हरेक परिस्थितिको बास्तविकता नबुझी हामी टिप्पणी गर्न थाल्यौं भने त्यो हाम्रो ठुलो पाप हो । पाप गर्नलाई मान्छे मार्न पर्दैन । मन भित्र चोट पुर्याउनु नै एक प्रकारको पाप हो ।

हरेक ब्यक्तिलाई आफ्नो घर भत्काउँ, जिवनसाथीलाई माया नगरौं भन्ने पक्कै हुँदैन । परिस्थितीले जस्तो बनाइदिन्छ, त्यो भोग्ने नै हो । तर, सम्बन्धबिच्छेद हुनेहरुले भोगिरहेको पीडामा तमासा बनेर टिप्पणी गर्दा थप पीडा हुन्छ भन्न मात्र खोजिएको हो ।

जुन इशा र रविले आफ्नो जीवनमा भोगिरहेका छन् । सम्बन्धबिच्छेदले रविजीलाई मात्र पीडा दिएको छैन, इशाजीलाई उतिनै पीडा छ । तर, यहाँ बुझ्न पर्ने कुरा केहो भने सम्बन्धबिच्छेद भनेको गल्तीहरुको परिणाम हो । जुन परिणाम दुवैजनाले भोगेका हुन्छन्, तेस्रो पक्षले कोट्याएर यसलाई मसला बनाउनु उनिहरु दुवै माथि हामीले अपराध गरे जस्तै हो ।

समाजको हिलो पखाल, कसै माथि हिलो नफाल

रवि लामिछानेको यो साताको मेरो अध्ययनले एउटा कुरा सिकाएको छ । यो सबैलाई बाँड्न चाहन्छु । हामी समाजलाई सभ्य बनाउने कि झन बिकृत ? हामी हामीलाई उच्चस्तरको बनाउने कि झन निच ? यो बिषयमा सोचेर सबै बरिष्ठदेखि कनिष्ठसम्म बदलिनुपर्ने बेला आएको छ । अहिले हाम्रो समाजमा दैनिक जघन्य बलत्कारका घटना घटेका छन् । एक्लै कुनै महिला केटी कतै हिंड्न डुल्न सक्ने अबस्था छैन । अपराधीहरु दिनदिनै खुलेआम घुमिरहेका छन् ।

समाजमा हिंसाका पुजारीबाट निर्मला पन्तहरु दिनदिनै शिकार भएका छन् । धर्मका नाममा बम्जनहरु उत्पादन गरेर नारीहरुको शोषण गर्ने पाखण्ड बादहरुका कारखाना उत्पादन गरिरहका छौं । जनतालाई उपचार देउ भन्ने गोविन्द केसीलाई जीवनभर भोकै सेल्ट्याएर नानाभाँतीका आरोप लगाएर तमासा बनाइदिन्छौं । अनि भन्छौं, फलानो यस्तो थियो, उस्तो थियो ।’ कति असभ्यको दलदलमा फँसिसक्यौं हामी । आज सुगमका जनता पैसा नभए उपचारबाट बञ्चित छन् । दुर्गमका जनता अस्पताल नभएर मृत्युवरण गरिरहेका छन् । आज भ्रष्टाचारले देश कंगाल भइसकेको छ ।

एउटा रवि लामिछाने जस्ले यो देशलाई यो समाजलाई केहि योगदान दिन्छु भनेर लागेको छ, उसैलाई अनेक उपाय लगाएर खेद्न खोज्दैछौं । आज रविसंग अपराधीहरुको साथ नहोला । तर, निर्दोष शिक्षित युवाहरुको साथ छ । हजारौं महिला पुरुषहरु रविबाट यो देशमा केहि राम्रो काम होला भनेर हेरिरहेका छन् । अहिले उनि कालिकोटमा अस्पताल बनाउन पुगेका छन् । हजारौंको उनलाई साथ छ । उनलाई साथ दिनेहरु दलका नेताहरुले जसरी जागिर दिउँला वा कुनै बिचौलिया बनाइदिउँला भनेर आएका होइनन् । देश बिदेशबाट रविलाई साथ दिनेहरुले रविलाई न देखेका छन्, न भेटेका छन् । तर, पनि उनिहरु सबै रवि प्रति पूर्ण बिश्वस्त छन् ।

हामी रविको इष्र्या गरेर होइन, एक एक जनाले समाजलाई योगदान दिने हो भने यो मुलुक कति छिटो बन्छ होला । तपाई हामी हरेक भित्र रवि लामिछाने बन्न सक्ने क्षमता छ । त्यो क्षमता अरुलाई गिराउन खर्च नगर्ने हो भने तपाईलाई पनि रवि लामिछाने भन्दा बढि माथि पुर्याउनेछ । हामी सोच बदलौं, पक्कै पनि मैले ब्यक्त गरेका यी सबै कुराहरु मिठा लाग्नेछन् ।

देशलाई आज हजारौं रवि लामिछाने चाहिएको छ । रविको यो काम हरेक नागरिकका लागि बर्तमानमा प्रेरक बनिरहेको छ । सिंगो मिडिया एकातिरको तुलामा राख्दा पनि एक्लो रवि लामिछानेको अर्को तुलो अझ बढि भारी बनेको छ । उनको यो भुमिका देश र जनताको लागि अपरिहार्य बनिरहेको छ ।

मन भित्रको विकारहरु फालिदिएपछि तपाई पनि त्यो दिनदेखि रवि लामिछाने बन्न थाल्नुहुनेछ । किनकी सकारात्मक दृष्टिकोण नै सभ्य समाज निर्माणको मुख्य आधार हो ।
(लेखक सौर्य राष्ट्रिय दैनिकका सम्पादक हुन् ।)

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com