एमआरसिपिसिएच परीक्षा पहिलाेपटक नेपालमै सुरु, अब विदेश जानु नपर्ने



प्रकाशित मिति : Jan 12, 2019

काठमाडाैँ । मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एमआरसिपिसिएच) – युके परीक्षा अब नेपालमा नै शुरु भएको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आयाेजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा-सुविधा तथा विशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका विविध शैक्षिक गतिविधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एमआरसिपिसिएच परिक्षाका लागि छनौट गरेको जानकारी गराउनुभएको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका बिबिध बिषयहरुमा सहकार्यगरी अघि बढ्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सदैव तत्पर रहेको जिकीर गर्नुभयो ।

आरसिपिसिएचका स्ट्रटिजिक लिड डा रमेश मेहताले एमआरसिपिसिएच परिक्षा नेपालमा संचालन हुनु गर्वको विषय भएको गर्नुभयाे । उहाँले नेपाललाई सार्क मुलुकहरुको परिक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने प्रबल सम्भावना रहेको समेत बताउनुभयो । संसारभरका ३५ वटा मुलुकमा रहेका परिक्षा केन्द्रहरुमार्फत हरेक वर्ष छ हजार बालरोग विशेषज्ञहरुको परीक्षा लिने गरिएको समेत उहाँले बताउनुभयाे ।

आरसिपिसिएचका सिनियर एक्जामिनर डा मिथलेश लाल ले पहिलोपटक नेपालमा हुन लागेको एम आर सि पि सि एच परिक्षा यस पटक परिमार्जित तथा प्राबिधिक हिसाबले थप स्तरिय भएको जिकीर गर्नुभयो ।

आरसिपिसिएच सिनियर एक्जामिनर डा चन्डेश्वर महासेठले नेपालले धेरै वर्षको प्रयासपछि यो उपलब्धि हाँसिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो ।

आज र भोलि दुई दिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपाल तथा नेपाल बाहिरका गरी २४ जना बालरोग विशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागी भएका छन् ।

परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २०७५ साल पुष २८ गते शनिबार र २९ गते आइतबार गरी दुइदिन संचालन भइरहेकाे छ ।

यस परिक्षाका लागि यसअघि विदेश जानुपर्ने बाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com