प्रहरीमा भर्ना हुन गएका सुर्खेतका एक युवकको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या



प्रकाशित मिति : Jan 12, 2019

राँझा । बाँकेको कोहलपुरमा एक युवकको विभत्स हत्या भएको छ । नेपाल प्रहरीमा भर्ना हुन गएका सुर्खेतका दीपकसिंह ठकुरीको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भने, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए ।

ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com