माघेसङ्क्रान्ति पर्वको चहलपहल आदिवासी थारु र मगर बस्तीमा बढ्दै



प्रकाशित मिति : Jan 12, 2019

बर्दिवास । माघ १ गते अर्थात माघेसङ्क्रान्ति नजिकिदै गर्दा महोत्तरीको थारु बस्तीमा यसको चहलपहल बढ्दै गएको छ । विशेषगरी यहाँ बसोबस गर्ने आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको हो ।

पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसङ्क्रान्ति पर्वको रौनक छाइरहेको छ । थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन् । पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जी डाकिएका छन् ।

त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगरले पनि थारुजस्तै पर्वको जोहो गर्दै आफन्तलाई डाकेका छन् । पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम जारी छ । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुर थारु बसोबासका बस्ती हुन् ।

थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासक्रायत भनिने माघेसङ्क्रान्ति पर्वको तयारीमा जुटेका छन् । पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । महोत्तरीसहितका मिथिला क्षेत्रमा यो पर्वमा खास महत्वको मानिने तील, सख्खर, चिउरा र मुरीको बजार जमेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com