जनकपुर यातायात व्यवसायी संघको ‘सिण्डिकेट’मा स्थानीय प्रशासनकै सहयोग



प्रकाशित मिति : Jan 11, 2019

राजकमल सिंह,

धनुषा । सरकारी व्यवस्थाअनुसार कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका साधनले रोजेको गन्तब्य जान पाउँछन् । कसैले रोकतोक गर्न पाउँदैन । ‘सिण्डिकेट’ अन्त्यका लागि भन्दै गरिएको यो व्यवस्था जनकपुरमा भने यातायात व्यवसायीले नै कार्यान्वयन हुन दिएका छैनन् । जसविरुद्ध स्थानीय प्रशासन पनि कडारुपमा उत्रिन सकेको छैन ।

संस्था दर्ता ऐनअनुसार स्थानीय प्रशासनमा दर्ता भएका यातायात सम्वद्ध समिति, संघ र संस्था खारेज गरेको सरकारले कम्पनीमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । तर, जनकपुरमा भने जनकपुर यातायात व्यवसायी संघको दबदबा घटेकै छैन । उसले कम्पनीमा दर्ता भएका बस जनकपुर प्रवेश गर्नै दिदैन । जसको पछिल्लो उदाहरण हो– सिद्धार्थ गौतमबुद्ध यातायाता सेवा केन्द्र प्रालिले राजविराजबाट सञ्चालन गर्न लागेको बसलाई जनकपुरमा लगाइएको रोक ।

कम्पनीमा दर्ता भएका बस जनकपुर प्रवेशका लागि जनकपुर यातायात व्यवसायी संघले प्रतिगाडी ६ लाख रुपैयाँ मागेको सिद्धार्थ गौतमबुद्ध यातायाता सेवा केन्द्र प्रालिका सञ्चालक बताउँछन् । संघकै संरक्षणमा पुराना बस सञ्चालकले नयाँलाई धम्क्याउँदै आएका छन् ।

कम्पनीमा दर्ता भएका बसका सञ्चालकले जनकपुर यातायात व्यवसायी संघको दादागिरीबारे स्थानीय प्रशासन र प्रहरीलाई अवगत नगराएका पनि होइनन् । तर, दुवै निकायले निरन्तर वेवास्ता गरेको नयाँ व्यवसायीको गुनासो छ । उता, स्थानीय प्रशासन जानकारी गराए जनकपुर यातायात व्यवसायी संघविरुद्ध ‘एक्सन’मा उत्रिने दावी गर्छ ।

व्यवसायीले जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराएको यो निवेदनले भने प्रमुख जिल्ला अधिकारीको दावी खण्डन गर्छ । कम्पनी सम्वद्ध व्यवसायीले लिखित गुनासो गर्दा पनि स्थानीय प्रशासनले पुरानै व्यवसायीको दबदबा कायम राख्न सहयोग पु¥याइरहेको स्पष्ट हुन्छ । उता, आफू नै सर्वेसर्वा झैं गरी जनकपुर बस व्यवसायी संघ समय तालिका खाली नरहेकाले जनकपुर—राजविराजमा कम्पनी सम्वद्ध बस चलाउन नदिएको कुर्तक गर्छ ।

सरकारको ‘सिण्डिकेट’ अन्त्य गर्ने घोषणामा स्थानीय प्रशासन कतिसम्म गैर–जिम्मेवार छन् भन्ने पुष्ट्याई जिल्ला प्रशासन कार्यालय धनुषाको यो हर्कतले गरेको छ । ‘सिण्डिकेट’का कारण साना यातायात व्यवसायी यसरी मारमा पर्दा सर्वसाधारण पनि हैरान छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com