चितवनमा विषादी प्रयोगको अवस्था भयावह,क्यान्सरका विरामी बढ्दै



प्रकाशित मिति : Jan 10, 2019

प्रकाश सिग्देल,

चितवन, २६, पुष । चितवन जिल्लामा रासायनिक विषादी प्रयोगको अवस्था भयावह रहेको एक अध्ययनले देखाएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जिल्ला समन्वय समिति कार्यालय, चितवनसँगको समन्वयमा गतवर्ष करिब ६ महिना लामो अध्ययनबाट चितवन जिल्लाका ९३ प्रतिशत कृषकहरुले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतभन्दा बढी कृषकहरुले १० वर्षदेखि रासायनिक विषादी मात्र प्रयोग गरिरहेका छन् । यसले मानव स्वास्थ्य र वातावरणमा पारेको असर केलाउने हो भने अवस्था डरलाग्दो रहेको प्रतिष्ठानका परियोजना प्रमुख, सिमृन काफ्लेले बताउनु भयो ।

सर्वेक्षणमा प्रत्येक स्थानीय तहका कृषकहरु, विषादी बिक्रेताहरु, पेशागत रुपमा विषादी छर्कने व्यक्तिहरु, स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविकालगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग वैज्ञानिक विधि अवलम्बन गरी मात्रात्मक र गुणात्मक तथ्याकं सकंलन गरिएको थियो ।

जसअनुसार अधिकाशं कृषकहरुलाई आफुले प्रयोग गर्ने विषादीको लेबलबारे जानकारी नरहेको पाइएको छ । विषादीको लेबलले खतराको तहलाई इंगित गर्दछ तर उक्त सूचनाको अभावमा कृषकहरुले विषादीलाई औषधिका रुपमा केही सुरक्षा नअपनाई ढुक्कसँग प्रयोग गरिराखेका छन् । त्यसरी नै चितवनका बजारहरुमा नेपालमा प्रतिबन्धित विषादीहरु पनि किनबेच भइराखेको सर्वेक्षणले देखाएको छ ।

चितवनमा सबै भन्दा धेरै राप्तीमा ९९ प्रतिशत किसानले बिषादी प्रयोग गर्ने गरेको तथ्याकं देखाउछ । त्यस्तै सबै भन्दा थोरै इक्छाकामनामा ६५ प्रतिशत किसानले बिषादी छकर्ने गरेका छन् ।

त्यस्तै भरतपुर महानगरमा ९१ प्रतिशत खैरहनीमा ९६ प्रतिशत , रत्ननगरमा ९५ प्रतिशत र माडीमा ८७ प्रतिशत किसानले बिषादी पं्रयोग गर्ने गरेको तथ्याकं देखाउछ ।

सर्वेक्षणले ५० प्रतिशत किसानले १० वर्ष देखि बिषादी निरन्तर प्रयोग गर्दै आएको भेटिएको काफले बताउनु हुन्छ । पेशागत रुपमा विषादी छर्कने व्यक्तिहरुको हकमा अवस्था झन् अत्यासलाग्दो छ । उनीहरुले प्रत्येक दिन प्रति ट्यांकी ५० देखि ६० रुपैँयाका दरले बिहानदेखि बेलुकासम्म निरन्तर विषादी छर्कने गर्दछन् । टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, बेहोस हुने, जिउ झमझम हुने जस्ता स्वास्थ्य समस्या सामान्य हुन् भन्ने बुझाईका कारण उनीहरु हत्तपत्त स्वास्थ्य संस्था पनि जाँदैनन् ।

सर्वेक्षणमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि सूचना संकलन गरिएको थियो । वरिष्ठ जनस्वास्थ्य अधिकृत, भोला शिवाकोटीका अनुसार चितवन जिल्लामा विगत केही वर्षदेखि क्यान्सरका बिरामीहरु ह्वात्तै बढेका छन् । विषादीयुक्त खाद्यान्न पनि एक प्रमुख कारक हुनसक्ने र थप गहिरो अध्ययन गर्न आवश्यक रहेको बताउनुहुन्छ उहाँ ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठान, चितवनले उक्त सर्वेक्षणको तथ्याकंका आधारमा स्थानीय सरकारसँगको सहकार्यमा भरतपुर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका विभिन्न वडाहरुमा विषादी न्यूनीकरण अभियान थालनी गरिएको छ । उक्त अभियानअन्तर्गत कृषक र पेशागत रुपमा विषादी छर्कने व्यक्तिहरुलाई रासायनिक विषादीको विकल्प र विषादीको सुरक्षित प्रयोगबारे सीपमूलक एवं सचेतनामूलक तालिमहरु संचालन गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com