२६ पुष २०७५, बिहीबार

भरतपुर । कारागारमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको दुई सय ५५ कैदीबन्दी क्षमता रहेको चितवन कारागार भरतपुरमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो ।

महिला बन्दीगृहको क्षमता २० जना , पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै हो तर महिला कैदीबन्दी गृहमा क्षमताभन्दा चौगुणा बढी राख्नुपरेको कारागारका शाखा अधिकृत तथा जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

आश्रित पाँच बालबालिका पनि महिला कैदीबन्दी गृहमा बस्छन् । मकवानपुर जिल्लामा महिला कैदीबन्दी गृह नभएका कारण सबै चितवन ल्याउने गरिएको काफ्लेले बताए । आधा महिला कैदीबन्दी मकवानपुर जिल्लाका मात्रै छन् । “लागुऔषध र मानव बेचबिखनका घटना मकवानपुरमा धेरै हुने गरेका छन्, काफ्लेले भने’ “त्यस कारण पनि धेरै महिला कैदीबन्दी मकवानपुरबाट ल्याइने गरिएको छ ।”

आर्थिक वर्ष २०७४/७५ मा पुस महीनामा ६०० कैदीबन्दी रहेका थिए । त्यसयता चितवन कारागारले एकैपटक ७०० बढी कैदीबन्दीको भारसमेत थेग्नुपरेको काफ्लेले बताए । विभिन्न अपराधमा मुद्दा खेपिरहेका कैदी तथा बन्दीको सङ्ख्यामा अधिक वृद्धि भएको कारण कारागार सञ्चालनमा समस्या हुनेगरेको उनको भनाइ छ ।

छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकोले चाप झन बढेको काफ्लेले बताए । रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ । पूर्वी नवलपरासीबाट अहिलेसम्म ८९ बन्दी चितवन ल्याइएका छन् ।

कारागारमा सबैभन्दा धेरै जबर्जस्ती करणी मुद्दाका १ सय ५६ जना, लागूऔषध बिक्री तथा प्रयोग गर्नेमा १५० जना, गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न १०६ छन् । यस्तै, कर्तव्य ज्यान मुद्दाका ८८, सवारी ज्यान मुद्दाका ४८ चोरी मुद्दाका २७ जना तथा मानव बेचबिखन मुद्दाका ३० कैदी तथा बन्दी रहेका छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV