२६ पुष २०७५, बिहीबार

काठमाडौं । छोरा÷छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा समय खर्चिनु दैनिकी बनिसकेको छ ।

“छोराछोरीको अध्ययन खर्च जुटाउन पनि पुर्खौली सम्पत्ति भएन ।” ुउनले भने, “बगरमा परिश्रम गर्नु हाम्रो बाध्यता हो ।” द्रोपतीजस्तै यतिबेला महाकाली नदीको तटीय क्षेत्रका विपन्न समुदायको आर्थिक आयआर्जनको गन्तव्य महाकाली नदीको बगर बनेको छ । जिल्ला बाहिरबाट समेत अहिले बालुवा छान्न महाकाली किनारमा अस्थायी टहरा बनाएर परिश्रम गर्नेको सङ्ख्या पनि धेरै नै छ ।

बगरमा बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन गरी बिक्री वितरण गर्दै आउनुभएकी खड्काले बगरमा गरिरहेको श्रम खर्चबाट परिवारको जोहो भइरहेको बताए । “तीन छोराछोरी पनि स्कूल बिदा हुँदा बगरमै आएर मजदूरी गर्छन् ।” उनले भने, “नदी बगर त हाम्रो रोजगारस्थल नै हो ।”

आफूसित भएको एक कट्ठा जमीनमा घरबास भएको बताउँदै उनले बालुवा छानेर बिक्री नगरेको दिन चामल खरीद गर्न नै समस्या हुने गरेको दुखेसो पोखे ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाका देवसिंह पाल पनि श्रीमतीसहित यतिबेला महाकाली बगरमै सङ्घर्षरत छन्। “यहाँ दुई वर्षदेखि हामी दुवै जना काम गरेर घर खर्च चलाइरहेका छौँ ।” उनले भने, “बगरमा काम नगरेको दिन खानाको जोहो गर्न समेत मुश्किल पर्छ ।” भीमदत्तनगरपालिका–१२ का सङ्गीता औजी हरेक दिन बिहानपख छोराछोरीलाई स्कूल पठाएर आफू मजदूरी गर्न बगर धाउँछन् ।

“यस्तै कडा परिश्रमबाटै जिन्दगी चलाएका छौँ ।” उहाँले भने, “मुलुकमा जतिसुकै परिर्वतन आएपनि हाम्रा पीडा उस्तै छन् ।” महाकालीमा अवस्थीत दोधारा चाँदनी झोलुङ्गे पुलदेखि उत्तर भुजेलाको किनारसम्म दैनिक सयौँ महिला तथा पुरुष नदीजन्य वस्तु उत्खननमा लागेका छन् । यहाँ हरेक वर्ष स्थानीय तहले उक्त वस्तु उत्खननका लागि ठेक्का दिँदै आएको छ ।

पाँच वर्षदेखि नदीमा बालुवा छान्दै आउनुभएकी भुजेलाकी पूजा क्षेत्री सङ्कलित वस्तुको भाउमा समस्या रहेको बताए । । “दिनभरि थकानसमेत नमेटेर परिश्रम गर्छौं ।” उनले भने “खरीद गर्न आउने सस्तो मूल्यमा माग्छन् ।” बगरमा बालुवा प्रति ट्रली रु दुई हजार, ढुङ्गा रु तीन हजार र गिट्टी प्रति ट्रली रु एक हजारमा बिक्री हुने गरेको छ ।

“हाम्रो त जिन्दगी नै बगरसितको सङ्घर्षले बाँचेको छ ।” बैतडीका डम्मरराम पार्कीले भने, “छोराछोरीका लागि खर्च जुटाउन यहाँ आएको हुँ ।” “बालुवा बेचेर चामल किन्नुपर्ने परिवारको अवस्था छ ।” उनले भने, “वर्षात्मा यहाँ उधारो खाद्यान्न किनेर गुजारा हुन्छ हिउँदको कमाइले तिर्न ठिक्क हुन्छ ।” भारत रोजगारीका लागि जानुभन्दा आफ्नै खोला नालामा सङ्घर्ष गर्नु उचित ठानेकाले आफू बैतडीबाट परिश्रम गर्न भुजेला आएको पार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV