२६ पुष २०७५, बिहीबार

काठमाडौँ । नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहन्छ ।

विदेशमन्त्री कोनोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । साथै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको प्रम ओलीसँगको भेटवार्ता नेपाल–जापानको द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको बताइएको छ ।

भेटमा नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन, नेपाल र जापानको बीच सहयोग प्रवद्र्धन, नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

आजै बिहान शितल निवासमा भएको राष्ट्रपतिसँगको शिष्टाचार भेटमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

सो भेटमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

त्यस अघि हिजो तारो कोनोले समकक्षी प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको थियो । यसैबीच, २५ वर्ष पुरानो हवाई सम्झौता पुनरावलोकन भएको छ । दुई देशका पराराष्ट्र मन्त्रीले कुटनीतिक नोट ‘एक्सचेन्ज’ गरेसँगै नेपाल र जापानबीच सीधा हवाई सम्झौता सम्झौता लागू भएको छ ।

हिजाे भएकाे दुई देशका परराष्ट्रमन्त्री स्तरीय छलफलमा पूर्वाधार निर्माण, ‘कनेक्टिभिटी’ तथा उर्जा क्षेत्रमा सहयोग र नेपाली कामदार लैजानेबारे पनि कुराकानी भएको थियो ।

नेपाली कामदार जापान लैजानेबारे महत्वपूर्ण छलफल भएकाे बताइएकाे छ । यद्यपि अर्को बैठकमा थप छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।

जापानले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउने सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदा दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने सहमति पनि भएको छ ।

LIVE TV