२६ पुष २०७५, बिहीबार


काठमाडौँ । काठमाडौँको वसन्तपुर दरवार क्षेत्रमा निर्माणाधीन महर्जन कम्प्लेक्सको निर्माण कार्य पुन: सञ्चालन भएको छ । कानुनी व्यवस्था र मापदण्डले बाधा नपर्ने सर्वोच्च अदालतको आदेश लगत्तै महर्जन बिजनेश एसोसियट्ले उक्त नियोक्लासिकल भवन बनाउन सुरु गरेको हो ।

न्यायधिशद्धय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भवन निर्माण कार्य नरोक्न आदेश दिएको हो । एसोसियट्सले २०७६ साल वैशाख १ गतेदेखि व्यवसायीक रूपमा भवन सञ्चालन हुने जनाएको छ ।

कम्प्लेक्सका सञ्चालक कृष्ण महर्जनका अनुसार कामपाको स्वीकृत मापदण्डभित्र निर्माण भइरहेको र भवनले हनुमानढोका प्राचीन स्मारक संरक्षण क्षेत्रलाई कुनै असर गरेको छैन । सर्वोच्चले दिएको आदेश र कामपाले २०७५ असार २७ गते जारी गरेको स्थानीय राजपत्र २०७५ अनुसार नै निर्माण कार्यलाई निरन्तरता दिएको उनले बताए ।

‘हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रको कोर क्षेत्र भन्दा बाहिर रहेको तथ्यलाई लुकाएर जानाजान दुख दिने नियतले मापदण्ड विपरीत बनेको संरचनालाई भत्काउनुपर्छ भनी रिट दयार गरेका थिए ,’ महर्जनले भने, ‘सर्वोच्चले निवेदकको जिकिर नपुगेको भनी फैसला गरेको हाे ।’

कित्ता नम्बर ९४२ मा साबिक क्रिष्टल होटेलको भवनको उचाइ ५३ फिट रहेको भनिए पनि हाल निर्माण भइरहेको सो कम्प्लेक्स ४१ फिट मात्रै अग्लो निर्माण गर्न लागेको महर्जनको दाबी छ ।

सर्वोच्चको फैसलामा भवन निर्माणसम्बन्धी मापदण्ड २०६४ को दफा ४ दशमलव ४ दशमलव २ मा परम्परागत शैलीमा बनेका पुराना घरहरूको उचाइ ३५ फिट भन्दा बढी रहेका र ती घरहरू पुनः निर्माण गर्दा पहिलेकै उचाइमा निर्माण गर्न पाउने प्रावधान रहेको हुँदा सो भवन निर्माण गर्दा कुनै असर नपर्ने देखिएको उल्लेख छ ।

संयुक्त राष्ट्र सङ्घको विशेष संस्था युनेस्कोले काठमाडौँको वसन्तपुर दरबार स्क्वायरअगाडि बनिरहेको महर्जन कम्प्लेक्सलाई विश्व सम्पदा क्षेत्र वरिपरि रहेकोले निर्माण नगर्न भनेको थियो ।

काठमाडौं महानगरपालिकाले भूमिगतसहित ४ तलाको निर्माण स्वीकृति दिएको सो कम्प्लेक्स भूमिगत तहमा पानी ट्याङ्की र लिफ्ट सहित निर्माण भइरहेको महर्जनले बताए । आफूहरुले क्रिस्टल होटेल रहेको सो स्थान किनेर पूरानै शैलीमा आधुनिक प्रवृधिबाछ सो कम्प्लेक्स निर्माण गर्न लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV