विधेयकको प्रतिवेदनले डा केसीका कुन-कुन माग सम्बोधन गर्‍याे, कुन गरेन ?



प्रकाशित मिति : Jan 09, 2019

काठमाडौं । सत्तारुढ दलका सांसदले बहुमतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिबाट पारित गराएका छन् ।

पारित प्रतिवेदनले प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन नगरेको विपक्षी नेपाली कांग्रेसको दावी छ । संसदले विधेयक परिमार्जन गरेर केसीका माग सम्बोधन गर्न सक्ने ठाउँ भने बाँकी नै छ । विधेयकको प्रतिवेदनले केसीका कुन–कुन माग सम्बोधन गर्यो र गरेन त ?

विधेयकको प्रस्तावना, काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने, सीटीईभीटीको कार्यक्रम फेजआउट गर्ने, चिकित्सा शिक्षा विश्वविद्यालय र मेडिकल शिक्षालाई १० वर्षभित्र नाफारहित बनाउने विषयमा सत्तापक्ष र विपक्षी सांसदको मत बाझिएको थियो । प्रस्तावना, उपत्यकाबाहिर मेडिकल कलेज सञ्चालन गर्ने र सीटीईभीटीका स्वास्थ्यसम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम ५ वर्षभित्र ‘फेजआउट’ गर्ने विषय केसी र सरकारबीचको सम्झौतासँग सम्बन्धित छ ।

केसीका कुन–कुन माग सम्बोधन भयो ?

– बहुमतका आधारमा पास भएको प्रतिवेदनमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । यो बुँदा केसीसँगको सम्झौता अनुसारकै हो ।

– प्रतिवेदनमा आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ । यो डा. केसी र सरकारबीच १० साउनमा भएको सहमतिअनुसारकै हो ।

– प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू नहुने भएको छ । यो डा. केसीसँगको सहमति र माथेमा आयोगको सिफारिस विपरित हो ।

– यो प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक संसदले पास गरेमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नै उपत्यका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन सक्नेछन् । जसप्रति केसीले असहमति राख्दै आएका छन् ।

कांग्रेसको असहमतिका बीच बहुमतको आधारमा प्रतिवेदन पारित भएसँगै अव यसबारे संसदमा छलफल हुने छ । तर, सत्तारुढ नेकपाको बलशाली संख्या रहेका कारण संसद पनि केसीका मागप्रति धेरै ‘लचक’ हुने संभावना छैन । उता, आफूसँगको सहमतिअनुसार विधेयक नबनेको भन्दै केसी १६ औं चरणको अनसन बस्न भन्दै इलाम पुगिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com