२५ पुष २०७५, बुधबार

चितवन । जिल्ला मालपोत कार्यालय चितवनका एक लेखा अधिकृत रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । भरतपुर मालपोत कार्यलयका लेखा अधिकृत रिठ्ठे दर्जीे रकम हिनामिना गरेर फरार भएकाे कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेले बताए ।

पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उहाँले बताए ।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए ।

पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो ।

पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए । मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV