२४ पुष २०७५, मंगलवार

काठमाडौं । काठमाडौंमा आयोजित एक साक्षत्कारमा सत्तारुढ दल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले भोलि सदन सूचारु हुने स्पष्ट पारे । उनले भने,‘संसद भोलि सूचारु हुन्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारेमा भोलि निर्णय लिन्छ ।’

उनले सदनलाई मर्यादित बनाउने कुरामा दुईमत नरहेको बताउँदै कांग्रेसले भोलि संसद नरोक्नेपनि विश्वास दिलाए । उनले भने,‘सदन सुचारु हुन्छ । सदन समस्याको समाधान गरेर अघि बढ्छ ।’

उनले वर्तमान सरकारले अहिले ‘गियर–चेन्ज’ गरेको पनि दाबी गरे । सरकार यतिवेला पूर्ण रुपमा विकास र समृद्धिमा केन्द्रित रहेको उनले जनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भनेजस्तो समृद्ध नेपाल र सुखी नेपाली नारालाई पूरा गर्नको लागि सरकार विकास निर्माणका काममा केन्द्रित भएर लागिपरिरहेको छ ।’

भट्टराईले सरकारले राम्रो काम गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सिर्जना गर्ने काम गरिरहेको पनि गुनासो पोखे । उनले भने,‘कांग्रेसले बरु रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ । म साथीहरुको यतातिर ध्यान केन्द्रित गर्न चाहन्छु ।’

सरकारले विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाईरहेको पनि उनले सुनाए । त्यस्तै वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि सुमधुर बनाएको उनले सुनाए । उनले भने,‘नेपाल कसैको अहितमा छैन । नेपाल नेपालको हितमा छ ।’

LIVE TV