२४ पुष २०७५, मंगलवार

भगिश्वर लिम्बु

तेह्रथुम । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि तेह्रथुममा धमाधम घर निर्माण भैरहेका छन् । जनता आवास कार्यक्रम अन्तर्गत जिल्लामा ५० वटा घर निर्माण भैरहेका हुन् ।जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको मातहतमा ५० वटा घर बनाउन जिल्लाका सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनौट गरिएको थियो ।

आफ्नो घर नभएर टहरामा बस्दै आएका दलित परिवारलाई सरकारले घर बनाईदिन थालेपछि खुसी भएको स्थानीय विमला सार्कींले बताउनु भयो ।

घर निर्माणका लागि मन्त्रालयले पहिलो र दोस्रो किन्ता बापतको रकम उपलब्ध गराई सकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाले जनाएको छ । यस अघि घर नभएर बारीमा टहरा बनाएर बसे पनि अब पक्की घरमा बस्न पाईने भएको सोही ठाउँ बस्ने जमुना सार्कीले बताउनु भयो ।

भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि छनौट भएका परिवारले प्रति परिवार तीन लाख ५० हजार रुपैयाँ अनुदान पाउने छन् । घर निर्माण भए पछि घरमा आउने पाउनालाई पनि सजिलो हुने स्थानीय सान्तीला नेपालीले बताउनु भयो ।

जनता आवस कार्यक्रम अन्तर्गत म्याङलुङ नगरपालिकाको पिप्ले दलित बस्तीका आठ घर, फेदाप गाउँपालिका जलजलको दलित बस्तीमा चार , आठराई गाउपालिकाको छातेढुंगा स्थित माझी बस्तीमा दुई घर, छथर गाउँपालिका हमरजुङको दलित बस्तीमा नौ घर, मेन्छ्यायेम गाँउपालिकाको मोराहाङ निंलेखु टोलमा ८ घर र लालिगुरास नगरपालिका सोल्मामा १२ घर निर्णय भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV