२४ पुष २०७५, मंगलवार

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले कार्यकाल सकिनु अघि नै बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गरेको जानकारी आएको छ ।

दिलिप रेग्मी

नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेको विशेष स्रोतले बतायो । पाँच महिना कार्यकाल बाँकी रहँदै हटाइएका रेग्मीलाई प्रधानमन्त्री ओलीले नरुचाउने गरेको बताइन्छ । यसअघि ओली पहिलोपटक प्रधानमन्त्री हुँदाका बखत पनि उनले आफ्ना विश्वासपात्र अधिकारीलाई नै गुप्तचर प्रमुख बनाउन खोजेका थिए । तर वरिष्ठताका आधारमा रेग्मी नै प्रमुखमा बढुवा भएका थिए ।

रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका हुन् ।

प्रमुखमा नियुक्ति पाएका अधिकारीको भने एआईजीको कार्यकाल सकिन लागेको थियो । उनी एक महिनापछि नै अवकाश लिने अवस्थामा थिए ।

यस्तै, सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV