२३ पुष २०७५, सोमबार

कञ्चनपुर : कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटक आकर्षणको गन्तव्य बन्ने गरेको छ । धार्मिक तथा पर्यटनको हिसाबले उत्कृष्ट स्थान भएपनि संरक्षणको अभावमा पुरातात्विक महत्वका प्राचिन मूर्ति हराउने र मासिने क्रम बढ्दै गएको छ ।

प्राकृतिक, रमणीय बेदकोट क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाका दृष्टिकोणले समेत श्रद्धालु दर्शनार्थी आउने गर्छन् । तर, तालका वरपर रहेका मन्दिरमा भएका पुरातात्विक महत्वका मूर्तिहरु हराउन थालेका छन । हालसम्म धार्मिक क्षेत्रबाट एक किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातुको नागको मूर्ति, ठूला घन्टी, बाघ हात्तीका कलात्मक मूर्ति चोरी भएका छन् ।

दैनिक करिब २ सयदेखि ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भएपनि तालको संरक्षण गर्न नसक्दा बेदकोट तालको स्ुन्दरतामा नै कमी आउन थालेको छ । चुरे क्षेत्रको विनाशका कारण प्रतिवर्ष तालको उत्तरतर्फका पहाडमा पहिरो जाने र पहिरो खहरे खोला हुँदै तालमा पुग्ने भएकाले ताल सङ्कटमा पर्दै गएको छ । तालको २० प्रतिशत भाग पुरिएपनि नगरपालिकाले ध्यान नदिएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

तालकै सौन्दर्यबाट पर्यटक आकर्षण गरिरहेको बेदकोट नगरपालिकाले संरक्षणमा ध्यान नदिंदा पर्यटकको रोजाइमा नपर्ने डर बढ्दै गएको छ । तर, नगरपालिका भने व्यवस्थापन र पूर्वाधार विकासलाई केन्द्रमा राखेको बताउँदै आएको छ ।

ऐतिहासिक, सांस्कृतिक र सिंगो कञ्चनपुरकै महिमा जोडिएको चुरे पहाडको फेदमा पर्ने ताल चुरे विनाशसँगै चपेटामा परेकोप्रति प्रदेश सरकार र नगरपालिका गम्भीर हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV