२३ पुष २०७५, सोमबार

रामहरि श्रेष्ठ,

ओखलढुुंगा । ओखलढुंगा प्रहरीमा आउने अधिकांश घरेलु हिंसाका उजुरीहरु मिलापत्रमा टुंगिने गरेका छन् । हिंसाबाट प्रभावित भई पीडितले प्रहरीमा उजुरी दिएपनि घरपरिवार र सामाजिक डरका कारण अधिकांश उजुरी मिलापत्रमा टुगिंने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको महिला तथा बालबालिका सेवा केन्द्रमा परेका उजुरीहरु मध्ये पहिलो प्राथमिकतामा मिलापत्र गर्ने गरिएको छ । कार्यलयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अर्थिक वर्ष २०७४–०७५ मा केन्द्रमा परेका २४ वटा उजुरी मध्ये १९ वटा उजुरी मिलापत्रमा टुंग्याईएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको हालसम्मको अवधिमा परेका २८ उजुरी मध्ये २१ वटा उजुरी मिलापत्रमा टुंगिएको छ । तथ्याकं अनुसार ओखलढुंगा प्रहरीमा आउने घरेलु हिंसाका उजुरीहरु बढ्न थालेका छन् । अघिल्लो आर्थीक वर्षमा २४ वटा उजुरी परेको भएपनि यस आर्थिक वर्षको ९ महिनाको अवधिमा उजुरी संख्या बढेर २८ पुगेको छ ।

केही पीडितले भने प्रहरीमा उजुरी दर्ता गराएर गएपछि दोस्रो पटक फर्केर नआउने समेत गरेको महिला तथा बालबालिका सेवा केन्द्रका सई प्रकाश घिमिरेले बताए ।

केन्द्रमा पर्न आउने अधिकाशं उजुरीहरु मध्ये सिद्धिचरण नगरपालिकाबाट धेरै उजुरी पर्ने गरेको छ । प्रहरीले सार्वजनिक गरेको तथ्याकं अनुसार आर्थिक वर्ष २०७४–०७५ मा सिद्धिचरण नगरपालिकाबाट १२ वटा उजुरी दर्ता भएका छन् ।

जसमध्ये १० वटाको मिलापत्रमा टुंग्याईएको छ । त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकाबाट परेका ६ मध्ये ४ वटा र सुनकोशी गाउँपालिकाबाट परेका १ वटा मिलापत्रमा टुंग्याईको छ ।

यता चिशंखुगढी गाउँपालिकाबाट परेका २ मध्ये १,मोलुङबाट परेका २ र चम्पादेबीबाट परेका १ वटा उजुरी मिलापत्रमा टुंग्याईएको छ । गत आर्थिक वर्षमा जिल्लाको लिखु र खिजिदेम्बा गाउँपलिकाबाट भने महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी परेको छैन । त्यस्तै चालु आर्थीक बर्ष २०७५–०७६ मा सिद्धिचरण नगरपालिकाबाट परेका १२ उजुरीमध्ये १०,मानेभज्याङबाट र सुनकोशीबाट परेका २–२ उजुरी मध्ये १– १ वटा मिलापत्रमा टुंग्याईएको छ ।

त्यस्तै चम्पादेबीबाट परेका ३ मध्ये २, मोलुङबाट परेका ४ मध्ये २ र खिजिदेम्बाबाट परेका ४ र चिसंखुगढीबाट परेका १ वटा उजुरी मिलापत्रमा टुंग्याईएको छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा लिखु गाउँपालिकाबाट भने घरेलु हिंसाको उजुरी दर्ता भएको छैन ।

प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा पर्ने अधिकांश उजुरीहरुमाथी पीडित र पीडक दुवै पक्षबीच छलफल गराउदाँ झैझगडा तथा असमझदारीका कुराहरु धेरै आउने गरेको घिमिरेले बताए ।



प्रतिक्रिया दिनुहोस्

LIVE TV