२३ पुष २०७५, सोमबार

अमर काफ्ले

इनरुवा, २३ पुष । सुनसरी सदरमुकाम इनरुवा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका ग्रुप ए का खेलहरु सम्पन्न भएका छन् ।

ग्रुप ए अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा प्रदेश नम्वर २ बिजयी भएको छ । प्रदेश २ ले आयोजक शान्तिदीप इनरुवामाथि २ सय ८ रनको फराकिलो जित दर्ता गरेको छ ।
३ सय २ रनको बिजयी लक्ष पछ्याएको आयोजक इनरुवा २५ दशमलव २ ओभरमा ९३ रनमा अलआउट हुन पुग्यो ।

आयोजक इनरुवाका कुनैपनि ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् । इनरुवाका सरोज बस्नेतले सर्वाधिक १५ रन जोेडे । इनरुवाका ४ खेलाडी बोल्डआउट भएका थिए । आयोजकलाई सस्तैमा समेट्न प्रदेश २ का रासिद खान एक्लैले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्वर २ ले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १ रन जोडेको थियो । प्रदेश २ का लागि बिशाल सुसलिङले १ सय ११ रनको शतकीय पारी खेले ।

खेलको म्यान अफ दी म्याच घोषित सुसलिङले १ सय ८ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतमा १ सय ११ रन जोडेका थिए । आयोजक इनरुवाका सरोज बस्नेतले विपक्षीका ३ विकेट चट्काए ।

लिग चरणका आधारमा खेलाइएको प्रतियोगितामा ग्रुप ए बाट आफ्ना दुवै खेल जित्दै नेपाल पुलिस यसअघिनै सेमीफाइनल प्रवेश गरिसकेको छ ।


प्रतियोगिता अन्र्तगत भोलि ग्रु्प बी को पहिलो खेलमा नेपाल आर्मीले प्रदेश ३को सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV