२३ पुष २०७५, सोमबार

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा १५औँ औषधि परामर्श परिषद्को बैठक बसेको छ । उपप्रधानमन्त्री यादवले औषधि ऐनको विनियमावली बनाउँदा औषधिको मूल्य जनताले धान्नसक्ने हुनुपर्नेमा जोड दिए ।

बैठकमा यादवले औषधिको गुणस्तर र मूल्य सन्तुलनमा ध्यान दिन निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । औषधिको मूल्य निर्धारण, अनुगमन समिति गठन तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमाथि छलफल गरिएको थियो। त्यसैक्रममा औषधि व्यवस्था विभागलाई सुदृढ बनाउने, गुणस्तरीय औषधि उत्पादन तथा आयात व्यवस्थापन गर्ने विषयमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा अगामी दिनमा औषधिको व्यवस्थापन गर्न मन्त्रालयका पदाधिकारी, औषधि उत्पादक र आयातकर्ताबीच छलफल गर्ने निर्णय भएको छ । विज्ञप्तिमा उपप्रधानमन्त्री यादवले औषधि व्यवसायीले गुणस्तरीय उत्पादन बढाउन ध्यान दिन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई तलमाथि नगरी अघि बढ्न, अनुमतीपत्र र नवीकरण गर्ने जटिलता हटाइने तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिइने जानकारी दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV