२३ पुष २०७५, सोमबार

एजेन्सी । चन्द्रमाको पृथ्वीबाट नदेखिने हिस्सामा आफ्नो यान पुगेको खुशीयालीसहित चीनले अन्तरिक्षमा महाशक्ति बन्ने आफ्नो चाहना सार्वजनिक गरेको छ ।

‘चाङ–ए ४’ नाम दिइएको अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव ‘एटकिन बेसिन’ मा पुगेको छ, जसले हालसम्म पत्ता नलागेको हिस्साको अवलोकन मात्र होइन, जैविक प्रयोग पनि गर्नेछ ।
चीनको अन्तरिक्ष अभियान मात्र डेढ दशकअघि मात्र शुरु भएको हो ।

यति छोटो अवधिमा प्राप्त सफलतालाई ठूलो योगदानका रूपमा वैज्ञानिकहरूले व्याख्या गरेका छन् । सन् २००३ मा चीनले पहिलो पटक मानवसहितको यान अन्तरिक्षमा पठाउन सफलता पाएको थियो, जुन रुस र अमेरिकापछि तेस्रो सफलता थियो ।

आगामी ५ वर्षका लागि चीनका अन्य महत्वाकांक्षी योजना पनि नभएका होइनन् । जस्तो–विश्वको सबैभन्दा ठूलो टेलिस्कोप, सबैभन्दा बढी तौलको रकेट र स्पेस स्टेसन प्रक्षेपण गर्ने योजना । यी सबै परियोजनामार्फत् भविष्यको अन्तरिक्ष महाशक्ति बन्ने चिनियाँ चाहना कसैबाट छिपेको छैन ।

त्यसैको पछिल्लो कडी हो, ‘चाङ–ए ४’ को प्रक्षेपण। यो सन् २००३ मा शुरु भएको मिसनको एक हिस्सा हो। यसको अर्को पहल पनि छ–सन् २०३६ मा चन्द्रमामा चिनियाँ नागरिकलाई उतार्ने महत्वाकांक्षा । सोही उद्देश्य पूरा गराउन चीनले हालसम्म अन्य अन्तरिक्ष महाशक्ति देशले गर्न नसकेको काम गरेको छ, चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान उतारेर ।

चन्द्रमाको दक्षिणी ध्रुवलाई पृथ्वीसँग नियमित सम्पर्कमा राखिराख्न सहज भने छैन । किनभने, चन्द्रमाको वातावारण नै त्यसमा बाधक छ । त्यसको समाधानका लागि चीनले एक विशेष स्याटेलाइट प्रक्षेपण गरिसकेको छ, जसले चन्द्रमाको दक्षिणी ध्रुव र पृथ्वीबीच सम्पर्क कायम राख्न मद्दत पुर्‍याउने विश्वास छ । ‘चाङ–ए ४’ ले चन्द्रमाको सतहको खोजविन मात्र गर्ने छैन, दक्षिणी ध्रुवमा आलु र अन्य वनस्पति रोप्ने प्रयास पनि गर्नेछ । र, रेशम किराको अण्डा पनि फैलाउने प्रयत्न गर्नेछ ।

सन् २०१८ मा चीनले प्रक्षेपण गरेका ३९ मध्ये एउटा रकेट मात्र असफल भएको छ । सन् २०१६ मा चीनले २२ वटा रकेट प्रक्षेपण गरेको थियो । सन् २०१८ मा अमेरिकाले ३४ र रुसले २० रकेट अन्तरिक्षमा पठाएका थिए । सन् २०१८ मा अमेरिकाले अन्तरिक्ष कार्यक्रमका लागि ३६ बिलियन डलर खर्च गर्‍यो । जबकी, उक्त वर्ष चीनको अन्तरिक्ष कार्यक्रमका लागि ५ बिलियन डलर मात्र खर्च भएको थियो ।

बढीभन्दा बढी स्याटेलाइट प्रक्षेपण गर्न चीनले बढी तौलका रकेट प्रयोग गर्दै आएको छ, जसलाई दोस्रो पटक पनि प्रयोग गर्ने चिनियाँ योजना देखिन्छ । अमेरिकामा निजी कम्पनीहरू कम मूल्यमा रकेट निर्माण गरिरहेका छन्, चीनमा भने यस कार्यक्रममा निजी कम्पनीहरू असफल देखिन्छन् ।

चीनले अन्तरिक्षमा स्पेस स्टेसन प्रक्षेपण गर्ने महत्वाकांक्षा पनि देखाउँदै आएको छ । अमेरिका, रुस र युरोपेली मुलुकको संयुक्त प्रयासमा १७ वर्षदेखि पृथ्वीको फेरो मारिरहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) को विकल्प बन्ने प्रयास चीनले सन् २०११ देखि थालेको हो ।

तर, उसको स्पेस स्टेसन त्यसभन्दा सानो थियो र, त्यसमा सवार हुने वैज्ञानिकहरू कम दिन मात्र बस्न सक्थे। सन् २०१६ मा चीन उक्त कार्यक्रमबाट पछाडि हट्यो किनभने उसको स्पेस स्टेसन तियाङगोंग-१ सँगको सम्पर्क विच्छेद भयो । गत अप्रिलमा तियाङगोंग १ प्रशान्त महासागरमा खस्यो ।

चीनको दोस्रो स्पेस स्टेसन तियांगोग-२ अहिले पनि अन्तरिक्षमा घुमिरहेको छ । र, सन् २०२२ सम्ममा मानवसहितको स्पेस स्टेसन अन्तरिक्षमा पठाउने चिनियाँ चाहना पनि छिपेको छैन ।
सन् २००७ मा चीनको अन्तरिक्ष अभियानको चर्को आलोचना भयो ।

कारण, चीनले अन्तरिक्षमा अन्य कुनै मानव निर्मित भूउपग्रह ध्वस्त गर्न सक्ने आफ्नो कार्यक्रम प्रदर्शन गर्‍यो । तर, कुनै प्रकारको शस्त्रीकरणको योजना नरहेको बताएर बेइजिङले आफ्नो आलोचनाबाट बच्ने प्रयास गर्‍यो । सन् २०१६ मा चीनले अलोङ १ नामक अन्तरिक्ष अभियान पठायो, जो अन्तरिक्षमा फैलिएको फोहोर सफाइमा सफल रह्यो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV