२३ पुष २०७५, सोमबार

काठमाडौं । विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले आफू निर्दोष रहेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । उनले आफूविरुद्ध पूर्वाग्रह राखी प्रतिवेदन तयार गरिएको भन्दै अाक्राेश व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले विमानको बाँकी किस्ता भुक्तानी गर्नु आफ्नो गल्ती नरहेको प्रष्ट पारेका छन् । तत्कालीन सर्वोच्च अदालतको फैसालाबाट समेत विमान खरिदका लागि बोलपत्र आह्वान कानुन बमोजिम नै भएको भेटिएपछि आफूले रकम भुक्तानी गरेको उनले बताए ।

आफ्नो पालामा दिइएको भुक्तानी रकम रोक्का गर्ने कुनै आधार नभएको समेत मन्त्री अधिकारीको दाबी छ । ‘सर्वाेच्च अदालतले समेत बाेलपत्र आह्वान कानुन बमोजिम नै रहेको फैसला गरेकाे भेटियाे,’ उनले भने, ‘मैले भुक्तानी रोक्ने अवस्था नै थिएन । रोकेको भए न त जहाज प्राप्त हुने थियाे, न बुझाइसकेकाे रकम नै फिर्ता अाउने अवस्था थियो । निगम टाट पल्टिने अवस्था अाउनुभन्दा खरिद गर्नु नै उचित ठानेकाे हुँ ।’

आफूविरुद्ध अनुमान र पूर्वाग्रहका आधारमा आरोपहरु लगाइएको भन्दै उनले सो प्रकरणमा भएको घोटलाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए । साथै नागरिकको आफूप्रतिको विश्वास टुट्न नदिने समेत उनले प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले निगमद्वारा गत असार र भदौमा भित्र्याइएका २ वटा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । साे प्रकरणमा दुईजना पूर्व पर्यटनमन्त्री, बहालवाला पर्यटन मन्त्रीका साथै ३ जना सचिवहरुलाई कारबाही सिफारिस गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV