२२ पुष २०७५, आईतवार

काठमाडौं, २२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगत्तै प्रश्न गर्न पाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा गरेको अवरोध पछि १५ मिनेटका लागि स्थगित वैठक अब बुधबार मात्र बस्ने भएको छ ।

प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदले प्रश्न गर्न पाउनु पर्ने भन्दै मागेको समय सभामुख कृष्णबहादुर महराले नदिँदा उनीहरु विरोधमा उत्रिएका थिए । प्रधानमन्त्री ओलीले सरकारका गतिविधिबारे जानकारी गराएकाले प्रश्नोत्तरको क्रम हटाइएको भन्दै सभामुखले समय नदिएपछि विरोधमा उत्रिएका सांसद नाराबाजी गर्दै रोस्टम घेर्न पुगेका थिए ।

विपक्षीको अबरोधका बीच सभामुखले केही समय बैठक सञ्चालन गर्नु भएको थियो । हो–हल्लाका बीच अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्नुभएको थियो ।

लगत्तै पन्ध्र मिनेटका लागि स्थगित गरिएको बैठक बसेन । यसैबीच, नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सभामुखले हुकुमी शैलीमा संसद चलाउन खोजेको आरोप लगाउनु भयो । कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्नोत्तर नभए संसद चल्न नदिने चेतावनी दिएपछि आजको दोस्रो बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक बुधवार बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV