२२ पुष २०७५, आईतवार
  • अमर काफ्ले

इनरुवा । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको आयोजक इनरुवा ३२ दशमलव २ ओभरमा ९६ रनमा समेटियो । पुलिसको बलिङ सामू क्रिजमा जम्न नसकेको आयोजक इनरुवा एकपछि अर्को विकेट गुमाउँदै ९६ रनको स्कोरमा समेटिन पुग्यो । १४ अतिरिक्त रन पाएको आयोजक टिमका खेलाडीले ८२ रनमात्र जोड्न सके । आयोजक शान्तिदीपका सोनु मण्डलले २४, सोनु अन्सारीले १७ र आमिर अख्तरले १५ रन जोडनु बाहेक अन्य ब्याट्सम्यानले १० रन माथिको स्कोर बनाउन सकेनन् ।

पुलिसका लागि सागर ढकालले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७३ रन जोडेको थियो ।
पुलिसकालागि प्रेम तामाङले १ सय ३७ रनको शतकीय पारी खेलेका थिए । १ सय १९ बलको सामना गरेका तामाङले १६ चौका र ४ छक्काको सहयोगमा १ सय ३७ रन जोडे ।
टिमको उच्च स्कोर खडा गर्ने क्रममा पुलिसका अमित श्रेष्ठले ६९ रन बनाउँदा कुशल भुर्तेलले ७९ रनको पारी खेले । अघिल्लो खेलमा ७३ रन जोडेका पुलिसका सुनिल धमलाले दोस्रो खेलमा टिमकालागि १४ रनमात्र जोड्न सके । २० रन अतिरक्त दिएको शान्तिदीपले पुलिसका ८ खेलाडीलाई आउट पारेपनि उच्च योगफललाई रोक्न भने सकेन् ।

आयोजक शान्तिदीप इनरुवाका सोनु मण्डलले १० ओभर बलिङ गर्दै ८० रन दिएर पुलिसको ५ विकेट चटकाएका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच शतकीय पारी खेलेका नेपाल पुलिसका प्रेम तामाङ घोषित भए । आजको जितसँगै नेपाल पुलिस क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि अघिल्लो दिनको खेलमा नेपाल पुलिसले प्रदेश नम्वर २ माथि १ सय १२ रनको जित दर्ता गरेको थियो । प्रतियोगिता अन्र्तगत भोलिको खेल गु्रप एका पराजित दुई टिम प्रदेश २ र आयोजक इनरुवाबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV