२१ पुष २०७५, शनिबार

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनको ‘बाचा’ पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

उपप्रधानमन्त्रीसमेत रहनु भएका फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वको टोलीले आज विहान प्रधानमन्त्रीसहित नेकपाका नेतालाई बालुवाटारमा भेटेर संसदको जारी अधिवेशनबाटै संविधान संशोधन हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय जनता पार्टीले संविधान संशोधन प्रक्रिया सुरु नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला फोरमले पनि स्मरण–पत्र बुझाउँदै संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता संस्थागत गर्न र राष्ट्रिय समस्यालाई हल गर्न संविधान संशोधन जरुरी रहेको बताएको हो । जवाफमा प्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सकारात्मक रहेको भन्दै कार्यदल बनाउने प्रस्ताव गरेको बताइएको छ ।

उपयुक्त समयमा संविधान संशोधन गर्ने सहमति गर्दै फोरम वर्तमान सरकारमा सहभागि भएको थियो । फोरमले दुई पार्टीको संयुक्त कार्यदल बनाउन, नागरिकलाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन, प्रदेश सरकारलाई सबल र सक्षम बनाउन, कर्णाली र दुई नम्बर प्रदेशका लागि विकाससम्बन्धि विशेष योजना व्यवस्था गर्न र आफ्नो जिम्मेवारीमा परेका मन्त्रालयको कार्य प्रभावकारिता बढाउने वातावरण निर्माणमा पनि जोड दिएको छ । स्मरण–पत्र लिएर अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका नेता बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV