२१ पुष २०७५, शनिबार

रबिना बोहरा

बागलुङ, २१ पुष । बागलुङको बडिगाड गाउँपालिका–२ राक्सेका आमाहरु गाउँ सरसफाई अभियानमा सक्रिय बनेका छन् । मध्यपहाडी लोकमार्ग स्तरोन्नतिसंगै रात्रि तथा दिवा यात्रुवाहक सवारीसाधन चल्न थालेपछि दैनिक रुपमा फोहर बढ्दै गएकाले आमा समुहले सुरुमा सम्झाउने र नमाने पछि जरिवाना तिराउन थालेका छन् ।

मध्यपहाडी लोकमार्ग क्षेत्रमा फोहरमैला तथा प्लाष्टिक फ्याँक्न निषेध गर्दै बडिगाड गाउँपालिका–२ का आमाहरु गाउँ तथा सडक सरसफाई गर्न कस्सिएका छन् । लोकमार्गको स्तरोन्नतिसंगै रात्रि तथा दिवा समयमा चल्ने यात्रुबाहक सवारी साधनबाट फोहोरजन्य बस्तु जथाभावी फाल्दा दुर्गन्ध फैलिनुका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेकाले अभियान चाल्नु परेको आमा समुहकी अध्यक्ष विष्णु पुरीले बताईन् ।

सुरुमा सम्झाउने, फोहोर फाल्न निषेध गर्ने र नमाने पछि जरिवाना तिराउने गरिएको समुहले जनाएको छ । फोहोर फाल्ने सामग्री गाडीमा नै व्यवस्थापन गर्न आग्रह गर्दै ५५ जना महिलाहरु रहेको समुहले एक महिनामा दुई पटक सम्म सरसफाई गर्दै आएको छ । त्यस क्रममा सुन्तलाको बोक्रा देखि वान्ता गरेका प्लाष्टिकहरु पनि उठाएको महिलाहरु बताउछन् । यस्तो अभियान थालेपछि धेरै परिवर्तन भएको सोही गाउँकी गिता अर्यालले बताईन् ।

जरिवानाबाट संकलन भएको रकमबाट गाउँमा सरसफाई गर्ने सामग्री ल्याउने, फोहोर फाल्न लागि बाल्टिन राख्ने एवं मरणघाट बनाउने लक्ष्य राखिएको बताएका छन् । यता मध्यपहाडी लोकमार्गमा सवारी चलाउदैँ आएका चालकहरुले यात्रुलाई प्लाष्टिक दिएपनि बाहिरै फाल्ने गरेको बताउछन् । आमाहरुले उदाहरणीय कार्य गरेको भन्दै स्थानीयबासीले समेत यो अभियानमा साथ दिएका छन् ।

गत वर्ष देखि स्थापना भएको आमा समूहले विभिन्न सामाजिक काममा हातेमालो गर्दै आएको छ । सरसफाई अभियानलाई दीर्घकालीन रुपमा चलाउनका लागि गाउँपालिकासंग पनि सहकार्य गर्न पहल गरेको समुहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV