२१ पुष २०७५, शनिबार

देवराज पन्त,

मकवानपुर । नेपाल वितरक महासंघको सातौ बार्षिक सभा तथा चौथो राष्ट्रिय महाधिबेशन आज हेटौंडामा सम्पन्न भएको छ । समापन कार्यक्रममा उद्योगबाट उत्पादित वस्तुलाई उपभोक्ताको विश्वास जितेर व्यवसायी गर्ने आफूहरुलाई विचौलियाको संज्ञा दिने गरेको नेपाल वितरक महासंघ अध्यक्ष डम्बरबहादुर थापाले गुनासो व्यक्त गर्नुभयो । सबै क्षेत्रमा राम्रा र नराम्रा पक्षहरु हुने भएकाले सबैलाई एउटै आँखाले हेर्न नहुने जिकिर पनि उहाँको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले उद्योगको उत्पादनलाई वितरकले उपभोक्ता सम्म नपुर्याउने हो भने उद्योग कलकारखाना नै असफल हुने बताउनु भयो । उहाँले बजारमा वितरकहरुको उल्लेखनीय भूमिका रहेको भएता पनि राज्यका तर्फबाट उद्योगलाई मात्र सहुलियत दिने तर वितरक दिन दिनै ऋणमा डुबेर व्यवसाय गर्नुपर्ने बाध्यताको अन्त्य हुनु पर्ने धारणा राख्नु भयो ।

समापन कार्यक्रममा ३ नम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, नेपाली काँग्रेसका जिल्ला नेता भीमसेन महत लगायत देश भरीका करीब १ सय ५० जना वितरकहरुको सहभागिता रहेको थियो । वितरकहरुलाई देशमा विभिन्न आन्दोलन, चाडपर्व तथा नाकाबन्दी जस्ता समयमा कृतिम अभाव श्रृजना गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । महाधिवेशनमा वितरक पवनकुमार पिया, भगवानदास अग्रवाल, डिल्लीराम तिवारी, दुर्गाराज श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV