२० पुष २०७५, शुक्रबार

मनोज श्रीवास्तव

कपिलवस्तु, २० पुस । गत असोज ८ गतोदेखि छोटी भन्सारबाट स्तरोन्नति गरेको सुठौली भन्सारले स्तरोन्नतिको चार महिना नपुग्दै बार्षिक लक्ष्य भन्दा डेढ गुना बढि भन्सार राजश्व असुली गरेको छ । सुठौली भन्सार कार्यालयले चालु आवको असोजदेखि पुष १६ गते सम्म तोकिएको बार्षिक भसार लक्ष्यको करिब १ सय ३५ प्रतिशत भन्सार राजश्व असुल गरेको हो ।

स्तरोन्नतिसंगै सुठौली भन्सारलाई १५ करोड भन्सार राजश्व असुलीको लक्ष्य दिईएकोमा हाल सम्म २० करोड १८ लाख ६६ हजार ४ सय ६७ रुपैया भन्सार राजश्व असुल गरेको सुठौली भन्सार कार्यालयले जनाएको छ ।

असुल भन्सार राजश्वमा पैठारी महसुल तर्फ १ करोड ५ लाख ६० हजार ६ सय १७, कषि सुधार शुल्क तर्फ १६ करोड ४० लाख ३४ हजार ८ सय ४९, पैठारी सेवा दस्तुर ११ लाख १८ हजार ५ सय, अग्रीम आयकर तर्फ १ करोड ६१ लाख २४ हजार ८ सय ३८, अन्तशुल्क ९ लाख ५ हजार ६ सय ६५ र मुल्य अभिबृद्धि कर ९१ लाख २१ हजार ९ सय ९८ रुपैया भन्सार राजश्व असुल गरिएको हो ।

भन्सार स्तरोन्नति अघि सो नाकाबाट दैनिक उपभोग्य सामग्री र कृषी सामग्री आयात हुदै आएको थियो । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामग्री आयात हुन थालेको छ । लक्ष्यमा चार गुणाले बृद्धि गरि ६० करोड पुर्याउने तयारी थालेको सुठौली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिनुभयो ।

भन्सार स्तरोन्नतिको निर्णय कार्यान्वयनमा आएसंगै कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधारसंगै सीमा क्षेत्रमा भन्सार स्थापनाका लागि जग्गा प्राप्ति र भारतीय नम्बर प्लेटका सवारी साधनमा कडाई शुरु गरेको उहाँले बताउनुभयो ।

बिभागले यस अघि चालु आवका लागि सुठौली भन्सारलाई बार्षिक १५ करोडको लक्ष्य निर्धारण गरेको भए पनि सो सुठौली भन्सारले तीन महिना मै २१ करोड डेढ गुणा बढी राजश्व असुली गरेको छ ।

भन्सारको स्तारोन्नतिको निर्णय कार्यान्वयनमा आए पनि हालका पूर्वाधार जिर्ण हुनु, कर्मचारीका लागि आवासको समस्या, यार्ड नहुदाँ सडकमै मालबाहक सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता, प्रयाप्त सवारी साधन नहुदाँ भन्सार चुहावट नियन्त्रणका लागि गस्ति गर्न समस्या, खाद्यबस्तु परीक्षणका लागि क्वारेन्टाईनको उपलब्धता र दशगजादेखि डेढ किलोमिटर भित्र भन्सार भएकाले चोरी पैठारी नियन्त्रणमा समस्या आएको भन्सार कर्मचारी बताउछन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV