२० पुष २०७५, शुक्रबार

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्षमा नगरपालिकामा क्षेत्रमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र प्रचार वर्ष घोषणा गरेका हुन् ।

नगर प्रमुख विष्ट भीमदत्त नगरपालिकालाई पर्यटकीय नगरी बनाउने लक्ष्यका साथ अघि बढेका छन् । पर्यटनलाई भीमदत्त नगर समृद्धिको प्रमुख आधारका मानेर कार्यक्रम सञ्चालन गरिएका छन् ।

‘भीमदत्त नगरपालिकामा पर्यटनका विशाल सम्भावना छन्, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ, झिलमिला छ, विविध संस्कृति छ, ताल तलैया छ’ उनले भने,‘ पर्यटनलाई नगर समृद्धिको प्रमुख आधार मानेर नीति कार्यक्रम बनेको छ, कार्यक्रम गरिएका छन्, नेपाल भ्रमण वर्ष सफल बनाउन यो २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा घोषणा गरेका छौ ।’

पुस महिनाभित्र हुने चौथो नगर सभाको पूर्व सन्ध्यामा नगर प्रमुख विष्टले पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन, पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि २०२० लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको हो । चौथो नगर सभाबाट यसका लागि थप नीति तथा कार्यक्रम पारित गर्न छलफल गरिएको छ ।

भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित महाकाली नदीको झोलुङ्गे पुल, झिलमिला ताल, विष्णु मन्दिर धाम, भम्केनी धाम, बाराकुण्डा, रौटेला, तिलकपुरको मिनी लिङ्गा, महाकाली नदीको मौन दृष्य, टुँडिखेलको ५२ ढोके, कालिताल झरना, शिवधाम क्षेत्र, ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर, कलपटे मन्दिर, राना थारु संस्कृति, सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा लगायतका धार्मिक पर्यकीय स्थल र साँस्कृतिक सम्पदा छन् । त्यसमध्ये नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुला विश्वविद्यालयका रुपमा विकास गर्नु पर्नेमा जोड दिर्दै आएका छन् ।

भीमदत्तमा पर्यटन प्रवद्र्धनका लागि नगर प्रमुख विष्टले उत्तरी क्षेत्रका सबै धार्मिक पर्यटकीय स्थल जोडिने गरी जैविक धार्मिक पर्यटन मार्ग बनाएका छन् । शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग सुरु गरिएको छ ।

जैविक मार्गमा पुस १५ गते म्याराथन धावक बैकुण्ठ मानन्धरको सहभागितामा म्याराथन मार्च गरिएको छ । एक हजार तीन सय खेलाडी सहित १० औं हजार स्थानीस सहभागी मार्च भीमदत्त नगरपालिकाको इतिहासमा पहिलो पटक आयोजना गरिएको हो ।

भीमदत्त नगरपालिकामा खेल पर्यटन प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको थियो । ‘आन्तरिक बाह्य पर्यटन भित्र्याउन पूर्वाधार र पर्यटन वर्षको भूमिका महत्वपूर्ण हुने विश्वास लिएका छौ’ नगर प्रमुख विष्टले भने,‘यस विषयमा सबै सरोकारवालाको साथ र सहयोगको आशा राखेका छौ ।’

महाकाली नदीको झोलुङ्गे पुल नजिक नदी किनारको नर्सरीमा पिकनिक स्पट र उद्यान बनाउने कार्यक्रम छ । गत वर्ष गुरु योजना निर्माण गरिएको योजनाका लागि ५० लाख बजेट छ । झोलुङ्ग पुल हेर्न आउने पर्यटकलाई उद्यानबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसार पुगाएर चित्तल अवलोकन गराउने लक्ष्यका साथ योजना अघि सारिएको छ । हात्तीसारमा चित्तल देखाएपछि पर्यटकहरुलाई नयाँ कटानको राना थारु होमस्टेमा पुगाउने लक्ष्य राखिएको छ । झोलुङ्गे पुलमा लाइटको व्यवस्था गर्न माहाकाली नगरपालिका कार्यालयसित छलफल गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाउँ विमानस्थल किनारको सडक कालोपत्रेका लागि ठेक्का आव्हान गरिएको छ । एक करोड ४० लाखको ठेक्का केही दिनभित्र सम्झौता भएर निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ । जैविक मार्गको उद्गम रौटेला मन्दिर क्षेत्रमा भीमदत्तका सबै वडाको प्रतिनिधित्व हुने गरी १९ फिटको त्रिशुल बनाउने तयारी गरिएको छ । बाराकुण्डा क्षेत्रका १२ कुण्ड पुनःभरण गरिएका छन् ।

भारतको पूर्णागिरी माताका दर्शनार्थीहरुलाई बाराकुण्डा पुगाउन कुण्ड पुनःभरण गरिएका हुन् । बाराकुण्डालाई तपोभूमिका रुपमा चिनिन्छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्य गरी बाराकुण्डा क्षेत्रको धार्मिक पर्यटकीय गुरु योजना बनाएर कुण्ड पुनःभरण गरिएका हुन् ।

विष्णु मन्दिर धाम, भम्केनी धाम, कालिताल झरना र झिलमिता ताल पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् । झिलमिलासम्म मोटर पुगाउन मटेनाबाट पक्की सडक निर्माण कार्य जारी राखिएको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि तयारी गरिएको छ । झिलमिला ताल संरक्षणका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिसित सहकार्य गरी कार्यक्रम तयार गरिएको छ । यस वर्ष १५ लाखमा झिलमिला ताल चेक ड्याम निर्माण हुने भीनपा वडा नं। ९ का अध्यक्ष राम नाथले बताए ।

ताराकोटमा भ्यू टावर बनाउन गत वर्ष गुरु योजना निर्माण गरिएको थियो । गुरु योजना अनुसार तेस्रो नगर सभाबाट भ्यू टावरका लागि बजेट विनियोजन गरिएको छ ।
भीनपा वडा नं। ९ र १० को सीमा क्षेत्रमा पर्ने कालिताल झरना पछिल्लो पटक अर्को आकर्षणको केन्द्र बनेको छ । कालिताल झरनासम्म बाटो सडक पूर्वाधार बनाउन बजेट विनियोजन गरिएको छ ।

नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले स्थापना गरेको भम्केनी धाममा ७५फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन नगर प्रमुख विष्टले एक करोड सहयोगको प्रतिवद्धता गरि सकेको छ ।

भम्केनी धामबाट कालिताल झरना, हुँदै ताराकोट भएर झिलमिला ताल पुग्न पदमार्ग निर्माण गरिने नगर प्रमुख विष्टले बताए । ‘यस विषयमा छलफल अघि बढेको छ, यसका लागि आवश्यक बजेट विनियोजन गरी पदमार्ग निर्माण सुरु गर्छौ’ उनले भने ।

ब्रह्मदेबबाट खल्ला टुँडिखेल र मुसेट्टी हुँदै कौवानीसम्म पर्यटक पुगाएर महाकाली नदीको मौन दृष्य अवलोकन गराउने योजना अनुसार काम सुरु गरिएको छ । भारतको पूर्णासगिरी माताको ठिक पारी कौवानी क्षेत्रमा महाकाली नदी मौन भएर बग्ने गर्छ । नगर प्रमुख विष्टले यसलाई साइलेन्टर रिभरको नामाकरण दिएका छन् । पूर्णागिरी माताका दर्शनार्थीलाई कौवानी भएर नेपालतिर ल्याउन महाकाली नदीमा झोलुङ्गे पुल वा घाट खोल्ने विषयमा छलफल गरिएको नगर प्रमुख विष्टले बताए ।

‘त्यो साइलेन्ट दृष्यसम्म पर्यटक पुगाउने लक्ष्य हो, त्यसका लागि त्यहाँसम्म गाडी पुगाउने सडक पूर्वाधार बनाउँछौ’ उनले भने ।

महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा साहसिक जलयात्रा९¥याफ्टिङ्ग० का लागि स्थलगत अध्ययन गरिएको छ । गत महिना भारतीय सीमावर्ती क्षेत्रका जनप्रतिनिधिसंगको छलफलमा समेत नगर प्रमुख विष्टले यस विषयमा छलफल गरेका थिए ।

राजा ब्रह्मदेबले शासन गरेको खल्ला, टुँडिखेल र मुसेट्टी क्षेत्रका प्राचिन सिद्धनाथ मन्दिर, ५२ ढोके र त्रिशुल डाँडा संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम गरिएका छन् । स्थानीय तह निर्वाचनपछि पहिलो पटक केही महिना अघि टुँडिखेलसम्म गाडी पुगेको थियो ।

पूर्णागिरी माताका दर्शनार्थीहरु पूर्णागिरी माताको दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा आउने गरेका छन् । सिद्धनाथ माताका दर्शनार्थीले सिद्धनाथ बाबाको दर्शन गरेपछि मात्रै मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि गत वर्ष शुक्लाफाँटा घाँसे मैदानमा कार्यपालिका बैठक बसेको थियो ।

पछिल्लो पटक रौटेलादेखि ब्रह्मदेबसम्म निर्माण गरिएको १८ मिटर फराकिलो १५ किलोमिटर लम्बाईको जैविक मार्ग समेत आन्तरिक पर्यटकको रोजाईमा परेको छ । पूर्व मन्त्री नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा सहित सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, साँसद डा। दिपक प्रकाश भट्ट, मान बहादुर सुनार, लाल बहादुर खड्का, पूर्व सभासद् कृपाराम रानाले जैविक मार्ग अवलोकन गरी प्रशंसा गरेका छन् ।

म्याराथन धावक बैकुण्ठ मानन्धर पुस १५ गते जैविक मार्गमा प्रतिस्पर्धीसंगै दौडिएपछि विभिन्न स्थनमा स्वागतका उभिएका स्थानीयको मानन्धरसित सेल्फी खिच्न भीड लागेको थियो । पूर्व मन्त्री नेकपाका साँसद घनश्याम भुसाल, नेकपाका नेता ईश्वरी प्रसाद खरेल, रण बहादुर महरा सहित जैविक मार्ग भएर कार्यक्रम समापन स्थल ब्रह्मदेब पुगेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आउने पर्यटकहरुका लागि नयाँ कटानस्थित राना थारु होमस्टेको संग्राहलय निर्माणमा सहयोग कार्यक्रम राखिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीमा वर्र्षौदेखि खाल्डाखुल्डी परेको बाटोमा ग्राभेलिङ्ग गरी आवागमनका लागि सहज बनाइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले भ्रमण वर्ष सफल बनाउन नगरपालिकाले सरोकारवाला निकायसित छलफल गरी थप कार्यक्रम बनाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV