२० पुष २०७५, शुक्रबार

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको तालिका अनुसार १३ औं चरणका लिग खेलहरु शनिबारबाट सुरु हुनेछन् । एन्फाले यस पटक रेलिगेशन प्रणाली लागू नगरी लिग गरेको हो । अन्तिम चरणको खेलमा भोलि हल्चोकस्थित एपीएफ मैदानमा दुई खेल हुनेछ ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्नेछन् भने सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । यस्तै आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीचको खेल हुनेछ भने फ्रेन्ड्स र च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

यसैगरी सोमबार मछिन्द्र क्लब र त्रिभुवन आर्मी तथा संकटा र एपीएफबीच खेल हुनेछ भने मंगलवार हिमालयन शेर्पा क्लब र थ्री स्टारबीच यस सिजनको लिगको अन्तिम खेल हुनेछ । गत असोज १३ गतेदेखि सुरु भएको लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए । अन्तिम चरणको खेल बाँकी रहे पनि लिगको विजेता र उपविजेताको टुङ्गो लागिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV