१९ पुष २०७५, बिहीबार
  • सुशीलबाबु थकाली

मुस्ताङ ।  हिमालीपारीको जिल्ला मुस्ताङमा यतिबेला स्याउको विरुवा उत्पादनले तीब्रता पाएको छ । सामान्यतया १ देखि ३ बर्षसम्म आवश्यकरुपमा नयाँ विरुवा तयार हुन समय लाग्ने भएकोले गर्दा धेरै मेहनत गर्नुपर्ने देखिएको छ । प्रतिकुल मौसमका बाबजुद पनि स्याउको विरुवा उत्पादनले गति लिन थालेपछि कृषकहरुमा थप हौसला बढेको छ । यसका अलावा शितोष्ण बागबाणी केन्द्रले मात्र यस बर्ष २५ हजार नयाँ स्याउका विरुवा उत्पादन गरेको हो भने अब बिरुवा तयार हुन अझ २ बर्ष लाग्ने बताइएको छ । यो एक निरन्तर प्रक्रिया पनि हो ।

  मुस्ताङ जिल्लाको हकमा यस बर्ष मात्रै २० हजार विरुवा बिक्रि हुन भएको छ । वारागँ मुक्तिक्षेत्र गाउँपालिकामा मात्रै यस बर्ष १६ हजार स्याउको विरुवा माग भएको शितोष्ण बागबाणी बिकास केन्द्रका प्राविधिक सहायक तारापती ज्ञवालीले बताए । यसैगरी घरपझोङ गाउँपालिकामा २ हजार ५ सय स्याउका विरुवा माग भएको उनले बताए । उनका अनुसार यस बर्ष शितोष्ण बागबाणी केन्द्रमा मात्रै २५ हजार स्याउको तयारी विरुवा उत्पादन भएको छ भने बाँकी विरुवा थासाङ गाउँपालिका र उपल्लो मुस्ताङका २ गाउँपापलिकामा बिक्रि हुने उनले बताए । अहिले नयाँ तयारी स्याउका विरुवाको सरकारी मूल्य प्रति बोटको ४४ रुपैयाँ रहेको छ ।

मुस्ताङ जिल्लाको स्याउ पछिल्लो समय देशका बिभिन्न जिल्लाहरुमा पुगेकोले पनि सकारात्मक सन्देश पक्कै गएको हो । हिमाली जिल्लाहरुको हकमा प्रायः मनाङ, जुम्ला, हुम्ला लागयतमा स्वादिलो स्याउ उत्पादन हुने गरेको छ । यस बर्ष भने सिन्धुपाल्चोक जिल्लामा मात्रै ५ हजार स्याउका नयाँ विरुवा माग भएको प्राविधिक सहायक ज्ञवालीले बताए । गत साल पनि उक्त स्थानहरुमा स्याउका विरुवाहरु वितरण गरिएको थियो । यस बर्ष सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा ५ हजार बराबरको नयाँ स्याउका विरुवाहरु माग भएको छ । यसैले पनि आउदो बर्षहरुमा नयाँ स्याउका विरुवा उत्पादनमा थप चुनौती पक्कै देखिएको छ ।

यसैगरी वारागँ मुक्तिक्षेत्र गाउँपालिकाले यस बर्ष मात्रै १७ हजार ५ सय नयाँ तयारी स्याउको विरुवा माग गरेकोमा जम्मा १६ मात्र पाउने भएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छे्रप्टेन गुरुङले बताए । उनका अनुसार बागबाणी केन्द्रले बितरण गर्न लागेको नयाँ स्याउका विरुवाले गाउँपालिकाका किसानहरुमा केही राहतको महसुस हुनेछ । आवश्यकता भन्दा केही विरुवा कम भए पनि अर्को बर्षमा थप गर्ने उनले बताए । उनका अनुसार यस बर्ष मात्रै गाउँपालिकाले कृषकहरुलाइ आवश्यक पर्ने बिउ बिषादी, गृन हाउसको लागि प्लास्टिक, अर्गानिक मल बितरण गर्ने भएको छ । यस बर्ष कृषकहरुलाइ बितरण हुन लागेको स्याउको विरुवा लगायत अन्य औजार, विउ, विषादी र मलहरुमा ५० प्रतिशत मूल्य छुट गर्न लागेको उनले बताए । नयाँ स्याउका विरुवाको मूल्यमा ५० प्रतिशत र ढुवानी पनि पूरै छुट गर्न लागेको उनले बताए ।

पछिल्लो केही बर्ष यता कृषकहरु स्याउ खेती गर्न लागिपरेका छन् । उपल्लो मुस्ताङको कागबेनीदेखि माथिल्लो भेग जस्तै वारागँ मुक्तिक्षेत्र गाउँपालिका अन्तरगतमा लगाइएका स्याउका विरुवाहरुमा त्यस्तो कुनै पनि प्रकारको रोगहरु हालसम्म देखा नपरेकोले पनि कृषकहरुमा स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको उनको ठम्याइ रहेको छ । साथै यस बर्षबाट उक्त गाउँहरुमा स्याउ खेती मात्र नभै कागजी बदाम, दाँते ओखर, आलुबखडा, आरु, खुर्पानी लगायतका विरुवाहरु लगाउन कृषकहरु लागिपेरका छन् ।

यसैगरी शितोष्ण बागबाणी केन्द्र्रका बरिष्ठ बागबाणी अधिकृत बालकृष्ण अधिकारीले यस बिषयमा आफु जानकार रहेको र खुसी लागेको बताए । पछिल्लो केही बर्ष यता मुस्ताङको तल्लो भेगहरुमा स्याउले भनेजस्तो फल दिन छाडेको अवस्थामा उपल्लो मुस्ताङको स्याउ उत्पादन देखेर खुसी लागेको उनको भनाइ छ । यतिबेला कृषकहरुले उक्त गाउँहरुमा स्याउको नयाँ विरुवा रोप्नेदेखि लिएर भएका रुखहरुलाइ आवश्यक स्याहार सुसार गर्न लागिपरेको छ । साथै उक्त स्थानहरुमा हालसम्म रोगको समस्या पनि नदेखिएको र स्याउको फलमा पनि गुणस्तर देखिएको बागबाणी अधिकृत अधिकारीले बताए । स्याउको लागि चाहिने मौसम र वातावरण समय सापेक्ष अनुकुल भएकोले पनि स्याउ खेतीमा तल्लो भगका कृषकहरुभन्दा उपल्लो भेगका बढी आकर्षित हुँदै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV