१९ पुष २०७५, बिहीबार
  • राजु पौडेल

झापा, १९ पुस । उखु बिक्री हुन छाडेपछि झापाका किसानले लगाएको उखु बारीमै सुक्न थालेको छ । उखुले बजार र उचित मुल्य नपाउँदा लगानी र परिश्रम खेर जान थालेपछि उखु किसान चिन्तित बनेका हुन् ।

 वर्षाेंदेखी उखु लगाउँदै आएका झापाको अर्जुनधारा र मेचीनगरका किसानले उखुको उचित मूल्य नपाउदा मारमा परेका छन् । जुस र सख्खर बनाउन प्रयोग हुने सेतो र कालो ज्ञयामरा जातको उखु लगाउँदै आएका किसानको उखु मागअनुसार उत्पादन बढी र बजार अभावका कारण उखु बिक्न छाडेको हो । केहीवर्ष यता उखु बिक्री गर्नै समस्या देखिएपछि उखु खेतीबाट धेरैजसो किसान पलायन भइसकेका छन् भने हाल उखु खेती गर्दै आएका किसान मागमा परेका छन् ।

उखु बिक्नै छाडेपछि किसानले उत्पादन गरेको उखु दाउरामा परिणत भएको किसानहरु दुखेसो गर्छन् । विगत २२ वर्ष देखि उखु खेति गर्दै आएका किसानहरुलाई २ वर्ष यता उखु बिक्री गर्न समस्या देखिएपछि उखु किसान संकटमा परेका छन् । ‘२०५६ साल देखि उखु खेती गर्दै आएँ, २०७३ साल भन्दा अगाडि कम मुल्यमा भए पनि उखु बिक्री हुन्थ्यो’ अर्जुनधारा—५ का रत्न बहादुर वन भन्छन्, ‘तर बितेको २ वर्ष यता उखु दाउराको रुपमा परिणत भएको छ ।’ उता अर्जुनधारा—५ कै मिना भारती भन्छिन्, ‘उखु कम मूल्यमै भए पनि बेच्न पाए केहि राहत हुने थियो, दाउरामा परिणत भएको उखुबारीबाट झिक्न समेत खर्चले नधान्ने अवस्थामा पुग्यौँ ।’

किसानको उखु नबिक्ने समस्या प्रत्येक वर्ष आएपनि सरकारले खासै चासो देखाएको पाइदैन । उखु किसानका लागि सरकारले कुनै निकाय र तवरबाट सहयोग र सहुलियत दिन नसकेकै कारण उखु किसान पलायल हुनुपर्ने अवस्था सिर्जना भइरहेको झापाको अर्जुनधारा—५ का वडाध्यक्ष ध्यान बहादुर भारती बताउनछन् । ‘उखु खरिद गर्ने ब्यापारी आफैँले ठुलो क्षेत्रफलमा उखु खेती गरेपछि सानो ३‐४ विगाहामा खेति गर्ने कृषकहरु मारमा परेका छन् ।’ आफु पनि उखु किसान नै भए पनि आफुले यस बारे केहि गर्न नसकेको स्वीकार्दै वडाध्यक्ष भारती भन्छन्, ‘कृषकहरुले बाध्य भएर उखु खेती छाड्नु पर्ने अवस्था आयो ।’

कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा १ सय ७० हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ । पछिल्लो तथ्याङ्कअनुसार झापामा ४ हजार ७ सय ६० मेट्रिकटन उखु उत्पादन भएको छ । चिनी उत्पादनका लागि प्रयोग हुने जितपुर जातका उखु ९ विगाहा जमिनमा उत्पादन भइरहे पनि त्यसको पनि बजारको समस्या देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV