१८ पुष २०७५, बुधबार

लमजुङ । कुरो २०४९ सालको हो । लमजुङको बेसीशहरमा त्रिवेणी युवा क्लब स्थापना भयो । क्लब स्थापनासँगै त्रिवेणी कप नाम दिएर फुटवल प्रतियोगिता आयोजना गर्ने निर्णय गरियो । तर परिस्थिती जटिल थियो । प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै पैसा, खेल मैदान, र पूर्वाधारको समस्या एकैचोटी आईलाग्यो । तैपनि उनीहरु पछि हटेनन् । र खेतका गराहरु भाडामा लिएर एउटा खसी र ३ हजार नगद पुरस्कार दिनेगरी विभिन्न समस्याको सामना गर्दै प्रतियोगिता सफल पारियो ।

आज त्यही प्रतियोगिताको २७ औँ संस्करण चलिरहेको छ । अहिले प्रतियोगिताको पुरस्कार ३ हजार होइन ३ लाख पुगेको छ । र प्रतियोगिता राष्ट्रियस्तरको बनेको छ । विशुद्ध मनोरञ्जनका साथै जिल्लाका कुना काप्चमा सीमित प्रतिभालाई पहिचान गरी राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यका साथ लमजुङ बेसीशहरमा २७ औं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता चलिरहेको छ । पुष १२ गतेदेखि शुरु भएको उक्त प्रतियोगिताले यतिबेला निकै चर्चा बटुलिरहेको छ ।

सुरुवाती चरणमा निकै सानो राशीको पुरस्कारबाट सुरु गरिएको प्रतियोगित अहिले राष्ट्रिय स्तरको बनेको छ । खेल पर्यटनको विकास र आर्थिक गतिविधि बढाउने हेतुले आयोजना गरिने यस प्रतियोगिताको विजेताले रु तीन लाख प्राप्त गर्ने छ भने उपविजेताले रु एक लाख पचास हजार पाउने र सेमिफाइनलका उपविजेता दुई टिमलाई ५०–५० हजारको व्यवस्था गरिएको छ ।

बुधबार भएको प्रतियोगिताको क्वाटरफाइनलसम्मको खेल पुरा हुँदा त्रिवेणी युथ क्लबले रामपुर फुटवल क्लबलाई ३–१ ले हराएर सेमिफाइनलमा पुगेको छ भने सुन्दरबजार फुटबल क्लब लमजुङ मस्र्याङ्दी युथ क्लवलाई पेनाल्टीमार्फत हराउउँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै एन्फा कास्कीले नाखिपोट फटबल क्लवलाई १–० ले हराएर सेमिफाइनलमा पुगेको छ भने सामना युथ क्लबलाई पेनाल्टी सुट आउट मार्फत पराजित गर्दै बुद्ध युथ क्लवले सेमिफाइनलमा आफ्नो नाम सुरक्षित गरेको छ ।

२७ औं त्रिवेणीकपको अवसरमा पौष १४ गते तमुहरुको महान् चाड ल्होसाारको शुभ अवसरमा संगित्तिक एवं सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । त्रिवेणी सांगितिक साँझ नाम दिइएको उक्त कार्यक्रममा लोकप्रिय गायक विपुल क्षेत्रीको समेत प्रस्तुती रहेको थियो । जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गर्ने, उच्च स्तरीय फुटवल प्रतियोगीता संचालन गर्ने, ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरुको प्रतिभा उजागर गर्ने, जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय खेलाडीहरुसँग खेल खेल्ने वातावरण सृजना गर्ने जस्ता बिभिन्न उद्देश्यसहित स्थापना भएको क्लवले आफ्नो लक्ष्य अनुसारको प्रगती हासिल गर्दै गएको आयोजकको भनाई छ ।

उचित खेल मैदानको अभाव, सीमित श्रोत साधनका वावजुद पनि दृढ आत्माविश्वासका साथ अघि वढ्दै अनेकौं तीता मिठा अनुभवहरु संगाल्दै आज २७ औं संस्करणसम्म आईपुग्दा त्रिवेणीकप एक राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भइसकेको छ । त्रिवेणी यूवा क्लवको अथक प्रयासले आज बेसिशहरस्थित सहजी खेल मैदान (त्रिवेणी रङ्गशाला) ११ साइज मैदानको रुपमा विकसित भएको छ ।

वि.सं. २०४९ सालमा स्थापना भएको त्रिवेणी युवा क्लवको पहिलो संस्करणको खेल निकै अविस्मरणिय छ । तत्कालीन समयमा खेतका गराहरु भाडामा लिई प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यतिबेला विजेतालाई १ खसीसहित नगद ३ हजार रुपैयाँको पुरस्कार राखिएको थियो । त्यो अवस्थाबाट सुरु भएको क्लव अहिले ३ लाखसम्मको पुरस्कार दिन सक्ने बन्नु र प्रतियोगिता जिल्लाकै उत्कृष्ट बनाएर राष्ट्रियस्तरको प्रतियोगिता सरह बनाउन सक्नुलाई सानो उपलब्धि मान्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV