१८ पुष २०७५, बुधबार
  • शिव डुम्रे/कृष्ण पाण्डे,

बुटवल, १८ पुष । नेपालकै व्यापारिक केन्द्रमध्येको प्रदेश नं. ५ को अस्थायी राजधानी समेत रहेको रुपन्देहीको बुटवलमा व्यवस्थित सिक्स लेनको सडकसँगै अपाँगमैत्री अकाशे पुल निर्माण भएपछि बुटवलको मुहार फेरिएको छ । ब्यस्त सडकमा बाटो काटन समस्या भएपछि बुटबलदेखि बेलहियासम्म दश वटा आकाशे पुल बनाउन लागिएको हो ।

हालसम्म ६ वटा पूल प्रयोगमा आईसकेको छ भने ४ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सकिएको छ । २०७५ सालको असारसम्म म्याद भएपनि थप म्यादअनुसार पुष मसान्तसम्म कामको समय छ तर विविध कारणले काम पूरा नहुने भएपनि आगामी फागुण १५ सम्म म्याद थप गरेर काम सम्पन्न गर्ने ठेकेदार निर्माण कम्पनीले बताएको छ ।

११ करोड ११ लाख १५ हजार २ सय २५ रुपैयाँ बराबरको सो ठेक्का माहादेव खिम्ती एसियटीक महेश जेभीले लिएको हो । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण भइरहेको छ । यस्तै यता बुटबलमा डाईभरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्गचौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि भुड्कीचोकमा आकाशे पुल निर्माण भइरहेका बुटवल बेलहिया व्यापारिक सडक निर्माण आयोजनाका ईन्जिनियर योगन्द्र बहादुर अधिकारीले बताए ।

उनका अनुसार निर्माण एउटा आकाशे पुलबाहेक सबै पुलहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । जसमध्ये धेरै ठाउँका पुलहरु प्रयोगमा समेत आईसकेको छ । ट्राफिकचोकमा रहेको हाईटेन्सनले गर्दा पुल निर्माण अगाडि बढाउन सकिएको छैन भने अन्य क्षेत्रका कामहरु धेरै सम्पन्न भइकसेको छ ।
आकाशे पुल अपाङमैत्री हुनेछ, नेपालमा राजधानी बाहिर पहिलोपटक यो पुलको अवधारणा आएको हो ।

सडक पार गर्न सबैभन्दा समस्या पर्ने अपाङहरुलाई पनि प्रयोग हुनसक्ने गरी यो पुललाई पूर्ण अपाङ्गमैत्री बनाइएको हो । बुटवल बेहहिया सिक्स लेन सडकखण्ड अन्तर्गत दुवैतर्फको ग्रिन जोनलाई प्रयोग गरी बनाईएको आकाशे पुल निर्माण कम्पनीका अनुसार एउटा पुल निर्माणको लागि १ करोडदेखि १ करोड २० लाखसम्मको लगानी लाग्छ ।

केही समय अगाडिसम्म बाटोमा काट्दा डराउनुपर्ने बृद्ध तथा स्कुले बालबालिकाहरु अहिले भने निर्धक्क पुलबाट सडक बारपार गरिरहँदा दङ्ग छन् । कुनै विदेशमा पुगेजस्तै झल्को आउने बृद्धहरु बताउँछन् । सडक विस्तारसँग आकाशे पुल अनिवार्य जस्तै बनिरहेका छ । सवारी साधनहरुको चाप बढ्दै जादा सडकमा पार गर्दा नै धेरै दुर्घटनाहरु हुने गरेकोले आकाशे पूल बनिसकेपछि सडकमा ट्राफिक जाम समेत कम भएको र दुर्घटना पनि कम हुने गरेको छ ।

आकाशे पूलहरु बनेसँगै अब सडकयात्रीहरुलाई आकाशे पूलबाट बाटो काट्नुपर्नेमा सचेतना दिन आवश्यक भने देखिन्छ । व्यापारिक दृष्टिकोणले अत्यान्तै महत्वपूर्ण मानिएको यो शहरले दिनानुदिन मुहार फेरिरहेको छ । अब केही समयपछिनै रात्रिकालीन व्यापरिक केन्द्रको रुपमा समेत चलाउने भनिएको यो सहर नेपालकै उत्कृष्ट व्यापरिक गन्तव्यको रुपमा अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV