१७ पुष २०७५, मंगलवार

जेरूसेलम, इजरायल। इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय रूपमा विभाजन भएकोे छ ।

मङ्गलबार गठबन्धनमा प्रभावशाली नेता मानिने अवि गावेयले आफ्नो समूहले आगामी अप्रिल ९ मा हुन लागेको आम निर्वाचनमा इजरायली विपक्षी दलका चर्चित नेता सेपी लेभ्नीसँगको सहकार्यलाई अगाडी बढाउन नसकिने बताउनुभयो । घोषणासँगै जियानिष्ट (यहुदी) यूनियन गठबन्धनको अन्त्य भएको छ । यूनियन गठबन्धन सन् २०१५ मा सम्पन्न निर्वाचनमा दोस्रो शक्ति बन्न सफल भएको थियो ।

गावेयको लेबर पार्टी र लेभ्नीको हुत्नुआहको गठबन्धन प्रतिपक्षी जिओनिष्ट यूनियन रहँदै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुडले १२४ सदस्य रहेको संसदमा ३० सीट जितेको थियो भने विपक्षी गठबन्धनले २४ सीटसहित दोस्रो दल बन्न सफल भएको थियो ।
सन् २०१७ मा गावेयले लेबर पार्टीको नेतृत्व सम्हालेपछि उसको लिभ्नीसँगको सम्बन्धमा असहजता उत्पन्न भएको थियो ।

“म अझैपनि सहकार्य, असल सम्बन्ध र एकताप्रति प्रतिवद्ध छु तर यसका लागि गठबन्धनमा रहेका नेताहरूबीच मित्रवत सम्बन्ध रहन आवश्यक रहेको छ,” गावेयले यूनियनका संसद सदस्यसँगको छलफलका क्रममा बताउनुभयो । गावेयपछि सम्बोधन गर्न पुगेका लिभ्नीले भन्नुभयो, “गावेयको आफ्नो भनाई अनुसार अघि बढ्नेमा मलाई विश्वास टुटेको छ । यसको प्रतिक्रिया आउँदासम्म धैर्य नगुमाउने निर्णय मेरो रहनेछ ।”

शनिवार दुई नरमपन्थी पक्षधर मन्त्रीहरू नाफ्तली वेनेट र आयलेट साकेदले आफुहरूले यहुदीको मातृ दललाई त्यागेको घोषणा गरेका थिए । उनीहरूले गठबन्धनले धार्मिक तथा धर्मनिरपेक्ष समूहको मत आकर्षण गर्ने दोहोरो नीति अवलम्बन गरेको दावीसहित सरकारी गठबन्धनबाट अलग्गिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV