१७ पुष २०७५, मंगलवार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुस्तक लिने र फिर्ता गर्नेहरुको सूचीसहितको एउटा रेकर्ड फाइल छ । फाइल भित्र हजारौं व्यक्तिले पुस्तक लिएको र फिर्ता गरेको नाम लेखिएको छ । तर, त्यही फाइलमा केही त्यस्ता ‘सेलिव्रेटी’ नेता, विद्वान भनिएका व्यक्तिको नाम पनि छ, जसले २० वर्षदेखि पनि पुस्तक फिर्ता गरेका छैनन् ।

नीति, नियम बनाउने तहमा रहेका राजनीतिक दलका नेता, कथित बुद्धिजिवी नै नियम मिच्न उद्दत छन् । जसको ज्वलन्त उदाहरण विश्वविद्यालयको पुस्तकालयमा राखिएको रेकर्ड फाइलले बोल्छ । २०३१ सालमा विद्यार्थी भएदेखि नेता बन्दै मन्त्री भएका व्यक्तिले समेत पुस्तकालयबाट पुस्तक लिएर फिर्ता गरेका छैनन् । हालसम्म पुस्तकालयबाट लगिएका झण्डै ८ हजार पुस्तक पुस्तकालयमा आएका छैनन् । तोकिएको समयावधि भित्र पुस्तक फिर्ता नगरेमा दिनको हिसाबले एक पुस्तक बराबर १ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यसरी पुस्तक लिएर पनि फिर्ता नगर्नेबाट पुस्तकालयले जरिवाना शुल्कबापत साढे तीन करोड उठाउनु पर्नेछ । यसरी पुस्तक लिएर पनि फिर्ता नगर्नेलाई पटकपटक चिठी नै काटेर पुस्तक फिर्ता गर्न माग गरेपनि कुनै पनि वरिष्ठ व्यक्तित्वले पुस्तक पु¥याउन नआएको कर्मचारीको गुनासो छ ।

उच्च तहमा रहेका व्यक्तिबाटै वर्षौ अघि लगिएको पुस्तक फिर्ता नगर्ने प्रवृत्तिले केन्द्रीय पुस्तकालय अहिले दिक्दार बनेको छ । तर, नीति नियम बनाउनेबाटै नियमको उल्लंघन हुँदा एकातर्फ विश्वविद्यालय करौडौं घाटामा गइरहेको छ । उता, नेता, अधिवक्ता र अधिकारकर्मी पुस्तक फिर्ता नगरेर पुस्तकालयमा बद्नामी कमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV