१६ पुष २०७५, सोमबार

काठमाडौं, १६ पुष । सांसदहरुले अध्ययन विना नै सडक निर्माण र विस्तार तथा जोखिमपूर्ण सडकमा सवारी साधन सञ्चालनको अनुमति दिँदा दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा सदस्यहरुले ग्रामीण क्षेत्रमा जथाभावी सडक निर्माण र विस्तार भईरहेको भन्दै डोजर अपरेटर नै इन्जिनियर बन्नु दुःखद रहेको टिप्पणी गरेका हुन् । प्राविधिक मापदण्ड विना सडक निर्माणलाई दण्डनीय बनाउन, निर्माणाधिन सडकको अनुगमन गर्न र जोखिमपूर्ण सडकमा सवारी साधन सञ्चालनको अनुमति नदिन उनीहरुको माग थियो ।

संघीय राजधानीबाट हटाइएका बीस वर्ष पुराना गाडि ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने प्रबृत्तिले पनि दुर्घटना बढिरहेको भन्दै सदस्यहरुले अव्यवस्थित ढंगले सवारी साधन रोकेर यात्रु चढाउने, फुटपाथमा पार्किङ गर्ने र मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

यातायात व्यवस्था र दुर्घटनाबारे छलफल गर्न समितिले आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ट्राफिक प्रहरी महाशाखाका प्रमुखलाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV