१६ पुष २०७५, सोमबार

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङका लाक्पानेरु शेर्पाले विगत २१ वर्षदेखि भेडा पालेर राम्रो आम्दानी गरिरहनुभएको छ । शेर्पाले अहिले पनि पुख्र्याैली पेशालाई निरन्तरता दिँदै वार्षिक रु चार देखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

तस्वीरः युवराज विष्ट, भोजपुर, प्रदेश नम्बर १ रासस ।

भेडापालनलाई अँगालेका शेर्पाको भेडीगोठमा यतिबेला १५० बढी भेडा छन् । बिहानदेखि बेलुकासम्म भेडाको स्याहारसुसारमा नै शेर्पाको दिन बित्ने गरेको छ । उमेरले ६३ वर्ष पुगेका शेर्पाले भेडीगोठ हिउँद लागेपछि गाउँमा र वर्षा लागेपछि मैयुङडाँडा सातदोबाटो, साल्पाको आसपासका जङ्गलमा लैजाने गरेका छन् । भेडा, भेडाको घ्यू, तथा ऊन बेचेर राम्रो आम्दानी भइरहेको शेर्पाको भनाइ छ ।उहाँले भन्नुभयो, “भेडापालन व्यवसायमा पहिला धेरै साथी थिए, अहिले धेरैले छाडिसके तर मैले यही व्यवसायमा लागेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गरिहेको छु ।” पछिल्लो समय सामुदायिक वनको नीतिका कारण भने भेडापालन पेशा लोप हुँदै गएको शेर्पाले बताउनुभयो ।खुला चरनको अभावले मैयुङ तथा टेम्के क्षेत्रमा विगतमा धेरैको सङ्ख्यामा रहेका भेडीगोठ अहिले १३/१४ वटामा समिति भएको शेर्पाको भनाइ । केही वर्षअघिसम्म खुलारूपमा वन क्षेत्रमा चरन गराउँदै आएकोमा मैयुङडाँडा आसपासमा सामुदायिक वन गठन भएपछि भेडापालनमा समस्या भएको शेर्पाले बताउनुभयो । प्रत्येक सामुदायिक वनले रु पाँच सयदेखि तीन हजारसम्म वार्षिक राजश्व उठाउने गरेको शेर्पाले बताउनुभयो । सामुुदायिक वनले उठाउँदै आएको राजश्वका कारण भेडापालनका लागि समस्या भएको हो । सरकारले नै वन नीति परिवर्तन गरेर सामुदायिक वन क्षेत्र चरनका लागि खुकुलो बनाइ दिनुपर्ने उहाँको माग छ ।

तस्वीरः युवराज विष्ट, भोजपुर, प्रदेश नम्बर १ रासस ।

“चरनका लागि निकै समस्या छ, धेरै वटा सामुदायिक वनलाई राजश्व तिनुपर्छ, सरकारले वन नीतिमा केही परिमार्जन गरिदिए सजिलो हुने थियो ।” उहाँले भन्नुभयो ।बेलाबेलामा भेडामा देखिने नाम्ले, छेराउटे, खोक्ने जस्ता रोगका कारण पनि भेडापालनमा समस्या भएको छ । पशु चिकित्सक नजिक नहुँदा दुई दिनको पैदल बाटो धाएर नगरपालिकाको दिङ्ला तथा भोजपुर सदरमुकाममा औषधि किन्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV